© २०२३
गुल्मी, जेठ-
जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रवद्र्धनका लागि रेसुङ्गा नगरपालिकाले ‘जाँउ हिड रेसुङ्गा’ अभियान सुरु गरेको छ । रेसुङ्गाको पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको प्रवद्र्धनसँगै रोजगारी सृजना गर्ने उद्देयले नगरपालिकाले आईतबारदेखि उक्त अभियान सुरु गरेको हो ।
‘जाँउ हिड रेसुङ्गा’ अभियानको सुरुवात गर्दैै रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले आर्थिक बर्ष २०८०÷८१ मा आन्तरिक तथा वाह्य पर्यटकको संख्या एक लाख भन्दा बढि पुर्याउने लक्ष्यका साथ अभियान सुरु गरिएको बताए ।आर्थिक वर्ष २०८०÷८१ लाई रेसुङ्गा भ्रमण वर्ष घोषणा गरी कार्यक्रम अगाडी बढाइने भन्दै नगर प्रमुख पन्थीले त्यसका लागि नीजि क्षेत्रसँग समन्वय र सहकार्य गरि साहसिक पर्यटन, जिप लाईन, होटल लगायतका क्षेत्रमा लगानी वृद्धि गरिने बताएका छन ।
अभियानको शुभारम्भ गर्दै नगर प्रमुख पन्थीले जिल्लाका सम्पूर्ण सरोकारवाला विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुसँग जिल्लामा पर्यटन प्रवद्र्र्धनका लागि केके गर्न सकिन्छ भन्ने विषयमा सुझाव समेत मागेका थिए । नगर प्रमुख पन्थीले पर्यटकीय गन्तव्य निर्माणका लागि रुरुक्षेत्र, कालीगण्डकी, श्रृङ्गा, विचित्र गुफा, कङ्के देउराली लगायतका मुख्य मुख्य क्षेत्रलाई जोडेर गुल्मी जिल्लामा पर्यटन सर्किट निर्माण गरिने योजना रहेको बताए ।
गुल्मीको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गा पछिल्लो समय थप आकर्षणको केन्द्र बन्दै जान थालेको छ । यो ठाउँ प्राकृतिक दृष्टिकोणले निकै सुन्दर र रमणीय स्थलको रुपमा परिचित छ । वरीपरि घना जंगलको बीचमा क्षेत्रमा रहेको पार्क, पोखरी, यज्ञशाला, भ्यूटावर, सिद्धस्थान, तथा विभिन्न कलात्मक मठ मन्दिरहरु यस क्षेत्रका आकर्षणका केन्द्र बनेका छन । यो क्षेत्रको प्रचार प्रसारका लागि नगरपालिकाले ‘जाँउ हिड रेसुङ्गा’ लेखिएको टिशर्ट समेत निर्माण गरेको छ । नगरपालिकाले जिल्लाको यो पबित्र अभियानमा जोडिन सबैमा आग्रह गरेको छ ।