© २०२३
कपिलवस्तु, जेठ- कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर २ नन्दनगर हरनामपुरका द्वन्दका क्रममा बेपत्ता भएका श्रीकिसन लोधको परिवारलाई आर्थिक सहयोग गरिएको छ । द्वन्दकालिन अवस्थामा २०६२ कार्तिक महिनामा बेपत्ता भएका लोधकी श्रीमती मधुना लोधलाई न्यायका लागी द्वन्द पिडित समाज नेपालले ४० हजार आर्थिक सहयोग गरेको हो । संस्थाका संस्थापक केन्द्रिय अध्यक्ष जनक बहादुर राउत र जिल्ला सचिव रामलखन कलवारले लोधको घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका हुन । द्वन्दका क्रममा घरका सदस्य बेपत्ता भएर आर्थिक र सामाजिक समस्या झेल्दै आएका परिवारका सदस्यको आयआर्जनमा टेवा पुर्याउन आर्थिक सहयोग दिईएको समाजका जिल्ला सचिव कलवारले बताए ।
कपिलवस्तु सहित देशभरका अन्य जिल्लामा पनि द्वन्दका क्रममा बेपत्ता भएका परिवारका सदस्यलाई संस्थाको महिला शसक्तिकरण परियोजना अन्र्तगत आर्थिक सहयोग गर्दै आएको संस्थापक केन्द्रिय अध्यक्ष राउतले प्रष्ट्याए । कपिलवस्तु जिल्लामा द्वन्दका क्रममा १७ जना बेपत्ता भएको न्यायका लागी द्वन्द पिडित समाज नेपालको तथ्याङ्क छ । देशभर बिभिन्न संघ संस्थाले सो समय बेपत्ता हुने नागरिकको संख्या ७ सय ५० देखी १ हजार ३ सय सम्म रहेको दावी गर्दै आएका छन । बेपत्ता आयोगमा भने बेपत्ता सम्बन्धि ३ हजार २ सय बढि उजुरी परेको देखिन्छ ।