© २०२३
दाङ, ९ जेठ ।
राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले अमेरिकी साम्राज्यवाद सम्पूर्ण विश्वको लागि नै गम्भीर खतरा बनेको टिप्पणी गरेकी छन् । प्रगतिशील पत्रकार संघ नेपाल दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाकी प्रवक्ता पौडेलले विश्वका विभिन्न देशहरूको राष्ट्रियता र सार्वभौमिकतामाथि अमेरिकाले हमला गर्नुका साथै विभिन्न देशहरूमा लोकतन्त्रलाई समाप्त गरेर फासिष्ट शासन कायम गर्ने नीति पनि अपनाइरहेको प्रति नेपाल र नेपाली जनता सचेत हुनुपर्ने बेला आएको बताइन् ।
उनले अमेरिकी साम्राज्यवादबाट संसारभरि नै युद्धको खतरा रहेको र नेपालमा पनि अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेर गएको उल्लेख गरिन् । नेपाललाई इण्डोप्यासिफिक रणनीतिअन्तर्गत रणनीतिको उद्देश्य चीनलाई घेराबन्दी गर्नु र चीनका विरूद्धको युद्धमा नेपाललाई आफ्नो युद्धको अखडा बनाउनु रहेको दावी गर्दै त्यसको परिणामस्वरूप नेपालमा ठूलो धनजनको क्षति हुने र यसले नेपालको तटस्थ परराष्ट्र नीति समाप्त हुने खतरा बढेको बताइन् । जसका कारण अहिले नेपालको राष्ट्रियता, सार्वभौमिकता, लोकतन्त्र समेतका लागि गम्भीर खतरा पैदा भएको छ । नेपालमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष निर्देशनमा चल्ने पार्टी बनाएर संसद र सरकारमा समेत आफ्नो प्रभुत्व कायम गर्न प्रयत्न गर्न थालेको देखिएको उल्लेख गर्दै एमसीसी परियोजना त्यसैको पछिल्लो उपज भएको जिकिर गरिन् ।
नेपालको राजनीतिक स्थिति र आवश्यकता अनुसार गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ नाराअन्तर्गत जनमोर्चाको आन्दोलन पनि लगातार अगाडि बढिरहेको बताइन् । उनले देशमा प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतामाथि लगातार आक्रमण गरिराखेको बताउँदै भारतीय साम्राज्यवादबाट पनि नेपालको राष्ट्रियता,सार्वभौमिकता र अखण्डतामाथि समेत गम्भीर प्रकारले आक्रमण भइरहेको दावी गरिन् ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै महंगो संघीयता खारेजी आफुहरुको विगतदेखिकै मुद्दा संस्थागत गर्न नेपाली जनताको साथ चाहिएको बताइन् । उहाँले संघ र स्थानीय सरकार चुस्त बनाउन, अधिकार सम्पन्न मितव्ययी संरचनामा ध्यान दिन सचेत गराउने काम गर्दै आएको बताइन् । उहाँले प्रदेश संरचना खारेजीको माग गर्नुभयो । महंगो संघीयताका बारेमा जनतामा सचेतना फैलाउन र अमेरिकी साम्राज्यवाद विरुद्ध खबरदारी गर्न मेचीमहाकाली अभियान लिएर दाङ आई पुगेको उनको भनाई छ ।
“त्यसका विरूद्ध उच्च सतर्कता अपनाउन राष्ट्रिय जनमोर्चाले सम्पूर्ण नेपाली जनतासित अपील गर्दै देशव्यापी अभियानमा हिडेको छ”, उनले भनिन् । अमेरिकी साम्राज्यवादको गम्भीर खतरामाथि ध्यान दिएर नै राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरूद्ध मेची–महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यो अभियान आगामी जेठ १ गते सुरू भएर जेठ १५ गते समापन गरिने छ । त्यो अभियान एकैसाथ जेठ १ गते कञ्चनपुरको महेन्द्रनगर र बाग्लुङको बाग्लुङ बजारबाट सुरु गरेर जेठ १५ गते काठमाडौं र बुटवलमा समापन गरिने छ ।