© २०२३
सुनवल, बैशाख – रामग्राम नगरपालिका वडा नम्बर १६ कि पुष्पा सहानी गर्भवती छिन्, उनलाई गर्भ जाँचका लागि सदरमुकाम परासी आउन झन्झटिलो लाग्दथ्यो, परासी सम्म आउँदा समय र पैसा दुवै बढि खर्च हुने भएकाले परिवारले पनि परासी जान खासै चासो देखाउदैन् थे, तर अहिले गाँउमै नगरपालिकाले भिडियो एक्सरे र विशेषज्ञ चिकित्सक सहितको गर्भजाँच सेवा सुरु गरेपछि भने सहानी खुसि छिन् । सहानीले भनिन चेक गराउन परासी जाने दिन बिहानै बाट बोझ महसुस हुन्थ्यो तर अब त्यो बोझ हट्यो । रामग्राम १६ कै रमावती सहानीपनि गर्भ जाँच गराउन परासी सम्म आउनुपर्दा झन्झटिलो मान्थिन् । घरधन्दा सकेर परासी सम्म आउनुपर्ने र तिन चार घण्टा कुनुपर्ने बाध्यताको अहिले नगरपालिकाले अन्त्य गरिदिएको छ ।
रामग्राम नगरपालिकाले रामग्राम १६ मा रहेको शुक्रौली स्वास्थ्य चौकिमा वातानुकुलित एसि सहितको प्रसुति सेवा, बहिरङ्ग उपचार सेवा केन्द्र (ओटिसि) र भिडियो एक्सरे सेवा सुरु गरेपछि गर्भवती महिलाले गाँउमै सेवा पाउन थालेका छन् । पालिका ठुलो क्षेत्रफलमा फैलिएको र १८ वटै वडाका जनता परासी आएर स्वास्थ्य सेवा लिन कठिन भएकाले गाँउ गाँउमा स्वास्थ्य सेवा विस्तार गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । गाँउमा अझै पनि घरमै सुत्केरी गराउने प्रचलन रहेकाले त्यसलाई अन्त्य गर्न नगरपालिकाले गाँउमै भिडियो एक्सरे र डाक्टर सहितको स्वास्थ्य सेवा विस्तार गरेको नगर प्रमुख धनपत यादवले बताए । अझै पनि घरमै गर्भवती गराउने प्रवृत्ति छ जसले आमा र बच्चा दुवै ज्यान जोखिममा पार्छ, त्यसलाई अन्त्यको लागी गाँउमै सेवा विस्तार गरिएको हो, नगर प्रमुख यादवले भने । हामिले परासीनै आउनुपर्ने बाध्यताको अन्त्य गर्न खोजेका हौ, यो सेवा पालिका भर १८ वटै वडालाई पायक पर्ने गरी विभिन्न स्वास्थ्य संस्थामा विस्तार गरिन्छ ।
पालिकाले गर्भवती महिलाका लागी मात्रै निशुल्क एम्बुलेन्सको पनि व्यवस्था गरेको छ, गर्भअवस्था विशेष अवस्था हुने भएकाले त्यो बेला स्थानिय सरकारको रुपमा रहेको नगरपालिका सहयोगि बन्नुपर्छ भनि विशेषज्ञ सहितको चेकजाँचको सेवा थालिएको नगर प्रमुख यादवले बताए ।
नगरपालिकाले गर्भवती चेकजाँचको सेवा शुक्रौली स्वास्थ्य चौकिबाट आईतबार देखि सेवा सुरु गरेपनि नगरका सबै वडालाई पायक पर्ने स्थानमा सेवा पुर्याउने गरी चार ओटा स्वास्थ्य चौकिमा पनि भिडियो एक्सरे सहितको चेकजाँचको सेवा विस्तार गर्ने जनाएको छ । सबै वडालाई समेट्ने गरी नगरका थप तिन ओटा स्वास्थ्य संस्थामा यो सेवा पुर्याईने नगरपालिकाको स्वास्थय शाखाका सुरज हरिजनले जानकारी दिए । शुक्रौली स्वास्थ्य चौकि सहित, अमरवन स्वास्थ्य चौकि, जमुवाड स्वास्थ्य चौकि र देवगाँउ स्वास्थ्य चौकीमा साप्ताहिक रुपमा एक दिन विशेषज्ञ चिकित्सक सहितको गर्भवती चेकजाँच र भिडियो एक्स–रे सेवा दिने हरिजनले बताए ।
नगरपालिकाले बहिरङ्ग उपचार सेवा पनि शुक्रौली स्वास्थ्य चौकि बाट सुरु गरेको छ । जसमा कुपोषित बालबालिकाको विशेष हेरचाह गरि उपचार हुने छ । अहिले नगरपालिकाले नगरका वडा वडामा पुगेर कुपोषित बालबालिकाको पहिचान गरिरहेको स्वास्थ्य शाखाले जनाएको छ । सो क्रममा फेला परेका कुपोषित बालबालिकाको उक्त केन्द्रमा निशुल्क उपचार हुने छ ।
रामग्राम नगरपालिकाले अमरवन स्वास्थ्य चौकीबाट पनि प्रसुति सेवा पुर्याउदै आएको छ । उक्त स्वास्थ्य चौकिमा केहि दिन अगाडी मात्रै ल्याब सेवा पनि सुरु भएको छ । आधुनिक उपकरण सहितको ल्याब सेवा पाएपछि सो क्षेत्रका स्थानिय पनि खुसि भएका छन् । रामग्राम १८ का स्थानिय नरेश चौधरीले भने पहिले सामान्य रगत जाँच गर्न पनि परासी पुग्नुपर्दथ्यो तर अहिले गाँउमै सेवा पाउन थालेपछि सहज भएको छ ।