© २०२३
दाङ, २६ वैशाख ।
लमहीमा मंगलबार अटो दुर्घटना हुँदा चार जना घाईते भएका छन् । लमही नगरपालिका –४ चैलाहीमा स्कुल बस र अटो एक आपसमा ठोक्किँदा अटोमा सवार चार जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बिहान साढे नौ बजे गढवाबाट लमही तर्फ जाँदै गरेको प्रिन्स बोर्डिङ स्कुलको बा १ क ९०१० नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा रा १ ह २१५४ नम्बरको अटो कल्भर्टमा ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गढवा गाउँपालिका –६ गढवा बजार निवासी ७२ वर्षका उमाकान्त पन्त, गढवा गाउँपालिका–६ मध्यपुर निवासी ४० वर्षका रवि विश्वकर्मा, सोही ठाउँ निवासी ७० वर्षका जुठी वली र गढवा –७ निवासी ४० वर्षका अटो चालक पुरन चौधरी घाईते भएका छन् ।
घाइते मध्ये उमाकान्त पन्तलाई लमहीमा प्राथमिक उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ भने जुठी वलीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको छ । अरुको लमही अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।