© २०२३
सल्यान, २५ बैशाख ।
महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगका कारण सल्यानको त्रिवेणी गाउँपालिकामा २० जीउ पशुचौपाया मरेका छन् । रोगबाट संक्रमित भैसकेपछि उपचारकै क्रममा ११ जीउ र उपचार नगरेर ९ जीउ पशुचौपाया मरेको गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ । शाखा प्रमुख वसन्त रावतका अनुसार रोगका कारण १७ गोरु र ३ गाई मरेका हुन् । हाल सम्म लम्पी स्किन रोगको संक्रमण भएका ९९० पशुचौपायाको उपचार गरिएको पनि उनले जानकारी दिए ।
पशु सेवा प्राविधिकहरुले संक्रामक रोग फैलिएको ठाँउमा पुगी बिरामी पशुको उपचार तथा जन समुदायमा उक्त रोगको बारेमा जनचेतना फैलाउने कार्य गरिरहेको गाउँपालिकाले जनाएको छ । लम्की स्किन रोग भाइरसबाट लाग्ने भएकाले यसबाट बच्न जैविक सुरक्षा अपनाउन पशु स्वास्थ्य शाखाले किसानहरुमा अनुरोध गरेको छ ।
पशु स्वास्थ चिकित्सकहरुका अनुसार लामखुट्टे, किर्ना र भुसुना जस्ता किराहरुले लम्पी स्किन रोगको विषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् । यसको अलावा रोगी पशुहरुको सिंगान, दूध र घाउबाट निस्केको पीप, रगत, जस्ता जैविक रसहरुको प्रत्यक्ष संसर्गबाट पनि यो रोग सर्न सक्छ ।
यो रोगको संक्रमणका कारण पशुचौपायाको घाँटी, पुच्छर वरिवरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागहरुमा साना ठूला गिर्खाहरु देखिने, उच्च ज्वरो आउने, कचेरा, सिंगान बग्ने तथा मुखबाट फिंज धेरै निकाल्ने, दूध उत्पादन घट्ने, बाँझोपना हुने जस्ता लक्षण तथा समस्या देखिने गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख रावतले बताए ।
धान खेतिको लागि खन जोत हुने समयमा धमाधम गोरु मर्न थालेपछि किसान चिन्तामा परेका छन् । महामारीकै रुपमा फैलिएको नयाँ रोगले गाइगोरु मरेपछि आफुहरु समस्यामा परेको र नोक्सानी भएको त्रिवेणी ६ का किसान शिव प्रसाद केसीले जनाए ।