© २०२३
नेपालको श्रमशक्ति :
नेपालमा १५ वर्ष माथिको जनसंख्यालाई श्रम गर्न सक्ने जनसंख्या मानिन्छ । २०७८ को जनगणना अनुसार नेपालको कूल जनसंख्याको ६१.९५ प्रतिशत जनसंख्या १५देखी ६० वर्ष बढी उमेर समूहका मानिसहरुको छ । ब्यवहारीक रुपमा नेपालमा १० वर्ष माथिका मानिसहरु पनि श्रममा संलग्न भएको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार अनुसार १० वर्ष वा सोभन्दा माथिका २,३९,५८,८६८ जना व्यक्तिहरु मध्ये १,५६,८९,७७७ जना (६५.५ प्रतिशत) आर्थिक रुपले सक्रिय र ८२,११,०१२ जना (३४.३ प्रतिशत) आर्थिकरुपले निष्क्रिय देखिन्छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार गणना भएको १२ महिना अगाडिको समयमा आर्थिक काम
गरेका १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरु कुल १ करोड ४९ लाख ८३ हजार ३ सय १० जना रहेका छन् । जसमध्ये सबैभन्दा बढी आफ्नै काम गर्ने ५५.३ प्रतिशत, अरुको काम गर्ने २८.६ प्रतिशत, परिवारमा सघाउने मात्र १४.५ प्रतिशत, रोजगारदाता १.४ प्रतिशत र उल्लेख नभएको ०.१ प्रतिशत रहेका छन् । दश वर्ष वा सो भन्दा बढी उमेरका कुनै पनि आर्थिक काम नगरेका ८९,७५,५५८ व्यक्तिहरु मध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशतले विद्यार्थी भएका कारणले काम नगरेको देखिन्छ । त्यसपछि अन्य कारणहरुमा क्रमशः घरधन्दा २१.९ प्रतिशत, बृद्ध अवस्था ११.० प्रतिशत, पारिवारिक हेरचाह ७.५ प्रतिशत, अन्यमा ७.४ प्रतिशत, अशक्त÷बिरामी २.५ प्रतिशत, पेन्सन÷आयस्ता २.२ प्रतिशत र सामाजिक कार्य÷स्वयंसेवा ०.३ प्रतिशत रहेको छ ।
नेपालमा श्रम बजार:
नेपालको मुख्य श्रमक्षेत्र कृषि क्षेत्र हो । दुई दशक अघिसम्म नेपालको दुई तिहाइ जनसंख्या कृषि पेशामै संलग्न भए पनि अहिले यो अवस्थामा पुरै परिवर्तन भएको देखिन्छ । परम्परागत पेशा र जिविकोपार्जनको लागि खेतीपाती तथा पशुपालन गर्ने चलन जिवितै भएपनि कृषिलाई नै मुख्य पेशा बनाएर श्रम गर्नेहरुको संख्या निरन्तर घटिरहेको छ । घरका सदस्यहरुबाटै कृषिका कामहरु गर्न सकिने भएकोले यो क्षेत्रमा बाह्य श्रमशक्तिको उपयोग हुन सकेको छैन । जनगणना अनुसार दश वर्ष वा सोभन्दा बढी उमेरका कुनै न कुनै रुपले आर्थिक काम गरेका कुल पुरुष संख्या ७८,७६,३२२ मध्ये कृषि, वन र माछापालन कार्यका दक्ष कामदारहरु ४३.९ प्रतिशत, सामान्य वा प्राथमिक पेशाका कामदारहरु १९.४ प्रतिशत, शिल्पकला तथा कालिगढ र यस सम्बन्धी व्यापार गर्ने कामदारहरु ८.७ प्रतिशत, सेवा तथा वस्तु बिक्री गर्ने कामदारहरु ७.१ प्रतिशत, व्यवस्थापकहरु ६.६ प्रतिशत पुरुष रहेका छन् । दश वर्ष वा सोभन्दा बढी उमेरका कुनै न कुनै रुपले आर्थिक काम गरेका कुल महिला संख्या ७१,०६,९८८ मध्ये सबैभन्दा बढी कृषि, वन र माछापालन कार्यका दक्ष कामदारहरु ५६.९ प्रतिशत, सामान्य वा प्राथमिक पेशाका कामदारहरु २६.९ प्रतिशत, सेवा तथा वस्तु बिक्री गर्ने कामदारहरु ४.४ प्रतिशत, व्यवस्थापकहरु ३.५ प्रतिशत, पेशाविद्हरु ३.२ प्रतिशत महिला रहेका छन् ।
पछिल्लो समयमा उद्योग क्षेत्र रोजगारीको ठुलो क्षेत्र बन्दै गएको छ । जनगणनाको नतिजा अनुसार १० वर्ष वा सो भन्दा बढी उमेरका आर्थिक काममा संलग्न १,४९,८३,३१० मध्ये थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतका कार्यहरुमा १२.५ प्रतिशत, निर्माणमा ८.१ प्रतिशत, अन्य सेवा प्रदान गर्ने क्रियाकलापहरुमा ३.९ प्रतिशत, औद्योगिक उत्पादनमा ३.८ प्रतिशत जनसंख्या संलग्न रहेका छन् । उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार नेपालमा एक हजार २७२ वटा ठुला उद्योग, एक हजार ९८३ वटा मझौला उद्योग र ५ हजार ४०१ वटा साना उद्योगहरु दर्ता भएका छन् । यी उद्योगहरुमा ६ लाख ४८ हजार ०३५ जनाले रोजगारी पाउन सक्ने देखिन्छ । त्यसैगरी हालसम्म ५ लाख५५ हजार ७७६ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् र यस्ता उद्योगमा ३०८३६९ जना श्रमिकाले रोजगारी पाइरहेका छन् ( आर्थिक सर्भेक्षण २०७८÷७९) । देशमा संचालनमा आएका १२६ वटा खानीमा करिब छ हजार जनाले रोजगारी पाएका छन् । गत आर्थिक वर्षको अन्त्य सम्म देशमा ५ लाख भन्दा बढी प्राइभेट फर्महरू दर्ता भएका छन् यस्ता फर्महरू समेत नेपालका श्रम बजार हुन् । पछिल्लो समयमा निर्माण क्षेत्र नेपालको ठूलो श्रम बजारको रुपमा विकसित भैरहेको छ । जनगणना २०७८ का अनुसार १०.५ प्रतिशत पुरुष श्रमिक र ५.४ प्रतिशत महिला श्रमिकहरु निर्माण क्षेत्रमा संलग्न भएको देखिन्छ । त्यसैगरी सवारी साधनको विक्री तथा मर्मत, यातायात क्षेत्र, होटेल, पर्यटन,पदयात्रा, पर्वतारोहण, मनोरंजन क्षेत्र, स्वास्थ्य क्षेत्रमा समेत ठुलो संख्यामा श्रमशक्ति खपत भैरहेको छ । अहिले शिक्षा क्षेत्र पनि रोजगारीको ठुलो क्षेत्रको रुपमा विकास भएको देखिन्छ । शिक्षा सम्बन्धि इन्स्टिच्युट, कलेज, परामर्शदाता कम्पनिले पनि शिक्षित नागरिकलाई रोजगारी प्रदान गरिरहेको छ । शिक्षित युवाहरुको मुख्य रोजाईमा सेना, प्रहरी, निजामति सेवा बैंकिंग क्षेत्र परेका छन् । देशमा हरेक वर्ष श्रम शक्ति थपिदै गएको भएपनि रोजगारीका क्षेत्रहरु त्यहि अनुपातमा वृद्धि र विकसित हुन नसक्दा देशमा बेरोजगारी दर बढिरहेको छ र रोजगारीको खोजीमा दिनहु हजारौ युवाहरु विदेशीइरहेको देखिन्छ ।
बेरोजगारी किन ?
अध्यागमन विभागको पछिल्लो तथ्यांक अनुसार दैनिक २ हजार युवाहरु भारत बाहेकका देशहरुमा रोजगारकिा लागी जाने गरेका छन् । विदेशिएका वा विदेशिने तरखरमा रहेका युवाहरुलाई विदेशिनुको कारण सोध्दा सबैले नेपालमा रोजगारीको अवसर नै नभएको बताउछन् । उनीहरुले यसो भनिरहदा संचार माध्यमहरुमा “ कृषि मजदुर अभावले खेतीपाती प्रभावित“, “ श्रमिक अभावले निर्माण कार्य रोकियो“. “ पहाड र हिमालमा भारतीय र बंगलादेशी मजदुरहरुले मनग्य आम्दानी गर्दै“ शिर्षकका समाचारहरु बारम्बार आइरहेको देखिन्छ । समाचारमा आए जस्तै समस्या जताततै देखिन थालेको छ । अहिले गाउघरमा युवाहरुले स्थानीय श्रोत साधनको उपयोग गरि स्वरोजगार बन्ने भन्दापनि विदेशिएर छोटो समयमा धेरै कमाउने लालसा बोकेर हिडेको देखिन्छ, जसले गर्दा स्थानीय क्षेत्रमा प्राप्त हुने रोजगारी र स्वरोजगारीमा अधिकांश युवाहरु संलग्न नै हुन् चाहदैनन् । देशमा शारीरिक श्रम गर्दा लज्जाबोध गर्ने प्रवृति युवाहरुमा व्याप्त छ । गाउँका खेतबारी, शहरका गल्लीहरुमा , आफ्नो परम्परागत पेशा भित्र रोजगारीका प्रसस्तै अवसर प्राप्त हुने भएपनि अधिकांश युवाहरुले त्यता सोच्न पनि चाहदैनन् । खेतीपाती, सफाई, ढुवानी, ठेला ब्यापार, सडक ब्यापार, सिलाई तथा कला जस्ता क्षेत्रमा अहिले भारतीयहरुले श्रम गरेर ठुलो रकम आफ्नो देशमा लगिरहेका छन् । विदेशमा गएर यिनै कामहरु गर्न तम्सने युवाहरुले स्वदेशमा यी काम गर्नुलाई बेईज्जत ठान्छन् । पासपोर्ट बनाउने, विदेश जाने, विदेश जान नपाए जागिर खोज्ने तर श्रम गर्ने क्षेत्रमा संलग्न हुन नचाहने, स्वरोजगार बन्ने उपायको खोजि नगर्ने प्रवृतिले गर्दा नेपालमा बेरोजगारहरुको ठुलै जमात तयार भएको छ । सरकार र दात्रु सस्थाहरुले वेरोजगारी हटाउने भन्दै वर्षेनी अर्बौ रकम खर्च गरिरहेका छन् । यी निकायहरुले खर्चने रकम युवाहरुलाई उद्यमशीलता सिकाउने भन्दा पनि गोष्ठी र सम्मेलन , प्रचार प्रसारमै स्वाहा भैरहेको छ । युवाहरुलाई रोजगारीका क्षेत्रसंग परिचित गराउने, उनीहरुको क्षमता वृद्धि गर्ने, श्रम बजारमा युवाहरुको पहुँच वृद्धि गराउने खालका कार्यक्रमहरु राज्यस्तरबाट आउन नसकेकोले देशमै श्रम गरीर बाँच्न चाहनाले सिमित युवाहरु समेत वैदेशिक मार्ग रोज्न बाध्य बनिरहेका छन् ।
नेपालको जनसंख्या संरचना अनुसार वार्षिक करिब ५ लाख ब्यक्ति श्रम बजारमा थपिने गरेका छन् । राज्यले यो जनशक्तिलाई बेलैमा पेशा र रोजगारीमा संलग्न नगराउने हो भने देशमा आर्थिक सामाजिक विकृतिहरु बढ्दै जानेछन् । धेरैपछि देशमा समृद्धिका सम्भावनाहरु देखा परेका छन् । समृद्धि यात्रामा धेरै हात र साथहरु आवस्यक छन् । उद्यम, निर्माण, स्वरोजगार, परम्परागत सीपमा सुधार जस्ता कार्यहरुमा ध्यान केन्द्रित गर्न सकेमा नागरिकले रोजगारी र देशले समृद्धि हासिल गर्ने कुरा निश्चित छ । तर यसको लागि आफ्नो योग्यता, सिप , उपलब्ध साधन श्रोत अनुसार श्रम गर्ने तत्परता भने हुने पर्छ । अहिलेसम्म शर्मले सीपलाई मारेको छ, शर्मले नै बेरोजगारी उत्पन्न गरिरहेको छ । श्रमको सम्मान गर्ने प्रवृति सामाजमा विकास गर्न नसक्दासम्म श्रम गर्न शर्म मान्ने प्रवृति रहिरहनेछ र यसले बेरोजगारहरु उत्पादन गरिरहनेछ ।Email:[email protected]