© २०२३
दाङ, १५ वैशाख ।
गढवा गाउँपालिकाले पशुपालक किसानलाई गाईभैसीलाई खुवाउने घाँस काट्ने च्यापकटर मेसिन प्रदान गरेको छ । पालिकाको पशु विकास शाखाको आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत कार्यक्रम अन्तर्गतका दश जना व्यावसायिक रुपमा पशु पालन गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ती मेसिन उपलब्ध गराएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल जानकारी दिए ।
“व्यावसायिक रुपमा पशुपालन गर्ने कृषकलाई पशुपालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले चारा काट्ने मेसिन वितरण गरिएको हो”– अध्यक्ष पोख्रेलले भने । पालिकामा रहेका किसानलाई प्रोत्सान गर्न, कृषिमा आत्मनिर्भर बनाउन पालिकाले कार्यक्रम ल्याएको बताए । किसानमुखी कार्यक्रमले किसानलाई व्यावसायिक बन्न सहयोग हुने उनको धारणा थियो ।
पालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीले आधुनिक प्रविधिको प्रयोग गरेर कृषि पेशालाई व्यबस्थित गर्न आग्रह गरिन् । कृषि पेशाबाट प्रशस्त आम्दानी गर्न सकिने भएकाले यसलाई व्यवस्थित गर्नुमा उनको जोड थियो । कृषकले आफ्नो आय स्तरलाई बलियो बनाउन प्राविधिक कुराको पनि ज्ञान हुनु आवश्यक भएको उनले बताइन् । चारा काट्ने च्यापकटर मेसिन प्राप्त गर्ने कृषकमा गढवा गाउँपालिका – ४ का कैलास चौधरीले पालिकाले च्याप्टर सहयोग गरेर पशुपालनमा टेवा पुग्ने बताए । गाइभैसीलाई भुष, पराल काटेर खुवाउन सजिलो हुने छ । आफ्नो आम्दानीले किन्न सक्ने क्षमता थिएन पालिकाले सहयोग गरेकोमा खुशी भएको बताए । सोही पालिका वडा नं. ६ का ओम प्रकाश यादवले च्याप्टरले समयको पनि बचत हुने र भुष पराल पनि खेर नजाने भएपछि खुशी भएको बताए । उनले भने, “स्थानीय सरकाले हाम्रा लागि राम्रो कार्यक्रम ल्याएको छ, पशुपालक किसानलाई व्यवसाय गर्न सजिलो भएको छ ।” पचास प्रतिशत अनुदानमा १० जना किसानले च्यापकटर मेसिन पाएपछि उनीहरु खुशी भएका छन् । पशुपालक कृषकहरुलाई यो च्यापकटर मेसिनले सहज हुने उनीहरुको विश्वास छ ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष लेखबहादुर थापा, लेखा अधिकृत शम्भु आचार्य, पशु विकास शाखाका प्रमुख अनन्तराज रेग्मी लगायतको उपस्थितिमा च्यापकटर मेसिन कृषकलाई प्रदान गरिएको गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुक भुकम्पले जानकारी दिए ।