© २०२३
दाङ, १० बैशाख ।
तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि सामग्री हस्तान्तरण सुरु गरिएको छ । पहिलो चरणमा आधारभूत तह पढाइ हुने सामुदायिक विद्यालयमा सूचना प्रविधि सामग्री हस्तान्तरण गरिएको छ । पालिकाले सूचना र प्रविधिको क्षेत्रमा शिक्षकको क्षमता बढाएर पठनपाठनमा सुधार ल्याउनका लागि सूचना प्रविधि सामग्री हस्तान्तरण गरिएको हो ।
नगरप्रमुख टीकाराम खड्काले सम्पूर्ण विद्यालयमा क्रमशः सूचना प्रविधि सामग्री हस्तान्तरण गर्दै लैजाने बताए । उनले प्रविधिको विकाससंगै शिक्षकले समेत आफूलाई निपूर्ण बनाउनुपर्ने बताए । पछिल्लो समय सबैकुरा प्रविधिसंग जोडिएकाले शिक्षामा पनि प्रबिधि जोड्न आबश्यक रहेको बताए । उनले पठनपाठनमा सूचना र प्रविधिको अधिकतम प्रयोग गरेर विद्यार्थीहरुलाई शिक्षण गर्न सके शैक्षिक गुणस्तर बढ्ने बताए ।
शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले सूचना प्रविधि सामग्री हस्तान्तरणका साथै विद्यालयमा प्रयोगमा ल्याउनका लागि शिक्षकहरुलाई प्रशिक्षण दिइएको बताए । उनले विद्यालयमा उपलब्ध गराइएका सूचना प्रविधि सामग्रीलाई यथावत् नै नराखी उपयोगमा ल्याउनका लागि आग्रह गरे । शिक्षकलाई सामग्रीका साथमा सिप पनि हस्तान्तरण गरेको उनले बताए ।
शिक्षक मेघराज भण्डारीले सूचना प्रविधिको सीपबाट कार्यालयीय पत्र लेखन, तथ्यांक संकलन, इ–कक्षा सञ्चालनमा सहयोग पुगेको बताए । प्रविधिको प्रयोगसंगै सिप पनि सिकेकाले काम गर्न सहज हुने बताए ।
तुलसीपुर उपमहानगरपालिकाभित्र आधारभूत र माध्यमिक तह पढाइ हुने ८३ वटा विद्यालय रहेका छन् । ती विद्यालयमध्ये माध्यमिक तह पढाइ हुने विद्यालयमा सूचना प्रविधिका सामग्री भएतापनि आधारभूत तह पढाइ हुने सम्पूर्ण विद्यालयमा सामग्रीको अभाव रहेको थियो ।
यसैबीच तुलसीपुर उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा चार दिने सूचना प्रविधि सम्बन्धी तालिमको समापन गरिएको छ । तुलसीपुर क्षेत्रका सामुदायिक विद्यालयका शिक्षकलाई सिप हस्तान्तरणका लागि तालिमको आयोजना गरेको शिक्षा, युवा तथा खेलकुद शाखाले जानकारी गराएको छ ।