© २०२३
बुटवल ।
गुल्मीमा जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको पनि मृत्यु भएको छ।जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ को हाडहाडे बर्दबास जंगलमा डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका सोही वडाकै ५५ वर्षका धनबहादुर जोगी कुँवरको उपचार गर्न काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए।
जलेर गम्भीर घाइते कुँवरलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकामा त्यहाँबाट काठमाडाैँका लागि रिफर गरिएको थियो।
डढेलो निभाउने क्रममा जलेर यसअघि शुक्रबार बिहान धुर्कोट गाउँपालिका ३ कै १३ वर्षीय दीपक मुखियाको मृत्यु भएको थियो।
बिहीबार राति डढेलो बस्तीतिर आउन नदिन सुकेका पतिंगर सोहोरेर अग्निरेखा बनाउँदै गर्दा हावाहुरीले आगो फैलिएर दीपक र धनबहादुरलाई भेटाएको थियो।