© २०२३
सल्यान बैशाख– आफ्ना नागरिकहरुको सुरक्षित आवासको लागि सल्यानको कालिमाटी गाउँपालिकाले खरको छाना विस्थापन अभियानलाइ तिब्रता दिएको छ । चालू आर्थिक वर्ष २०७९÷०८० को पहिलो चरणमा गाउँपालिकाले २८० विपन्न नागरिकलाई जस्तापाता वितरण गरेको हो । खरको छाना हटाएर जस्तापाता लगाउन पाउनेभएपछी नागरिकहरु हर्षित छन् ।
सातवटा वडा रहेको गाउँपालिकामा एक वडामा ४० जनालाइ जस्तापाता वितरण गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए । गाउँपालिकाभित्र बसोबास गर्दै आएका गरिब र विपन्नका लागि जस्ता पाता सहयोग गर्ने भन्दै गाउँपालिकाले तीन करोड रुपैयाँ विनियोजन गरेको थियो ।
आगलागीको अत्यधिक सम्भावना हुने र दुई–चार वर्षको अन्तरमा छाना परिवर्तन गरिरहनु पर्ने समस्याबाट मुक्त गर्नका लागि यो कार्यक्रमलाई प्राथमिकताको साथ अघि बढाइएको अध्यक्ष केसीले बताए । यस बर्ष करिव ४०० विपन्नलाई जस्ता पाता उपलब्ध गराउने लक्ष्य गाउँपालिकाको छ । कालिमाटी गाउँपालिकाको पहिलो कार्यकालमा पनि २४३ बढि घरधुरिले खरको छाना विस्थापन गरेर जस्ता पाता लगाएको अध्यक्ष केसीले बताए ।
सम्बन्धित वडाले छनौट गरेर सिफारिससाथ पालिकामा पठाएका विपन्न घरपरिवारलाइ जस्ता पाता उपलब्ध गराइएको उनले बताए । छोराछोरिलाइ सामुदायिक विद्यालयमा पढाएको हुनुपर्ने, पालिकाभित्र स्थायी बसोबास भएको हुनुपर्ने, परिवारका कुनै पनि सदस्यको रोजगारी नभएको जस्ता मापदण्डको आधारमा लाभग्राही छनौट गर्नेगरिएको छ । पालिकावासी नागरिकको समस्या समाधानका लागि गाउँपालिकाले हरदम प्रयास गरिरहेको भन्दै अध्यक्ष केसीले जनतालाई सरकारको आभास दिलाउन आफू कटिबद्ध रहेको बताए ।