© २०२३
लमही, ७ बैशाख ।
गर्मीयामसंगै बढ्दै गएको तापक्रम र हावाहुरीले दाङ देउखुरी क्षेत्रका चुरेमा डढेलो फैलिएको छ ।
विगतका वषहरुमा जस्तै यस वर्ष पनि दाङ देउखुरीका वनहरुमा डढेको सुरु भएको छ । एक हप्ता सम्म नियन्त्रणका लागि प्रयास नहुँदा डढेलो फैलिंदै गएको छ । देउखुरी उत्तर र दक्षिण भेगमा रहेको चुरेदेखि सामुदायिक र राष्ट्रिय वनहरुमा यसवर्ष डढेलो फैलिएको हो । डढेलो फैलिएको हप्ता दिन वितिसक्दा पनि सम्वन्धित निकायहरु मौन देखिएका छन् ।
नेपाल सरकारले प्रत्येक वर्ष डढेलो न्यूनिकरण गर्नका लागि लाखौ वजेट कार्यक्रममा खर्चिदै आए पनि उपलब्धि भने यस वर्ष पनि शुन्य देखिन्छ । हरेक वर्ष लाग्ने डढेलोले प्राकृतिक र मानवीय समेत क्षति गर्दै आएको छ । यसवाट बहुमुल्य जैविक विविधता र सम्पदा समेत खरानी हुने गरेका छन् ।
वन डिभिजन कार्यालय दाङका प्रमुख मोहन प्रसाद श्रेष्ठले जिल्लाका १ सय ७३ वटा वन मध्ये ८३ वटा वन डढेलोको उच्च जोखिममा रहेको बताए ।
जंगलमा आगो लगाउँदा राम्रो बोट विरुवा उम्रने, झारपात सफा हुने तथा च्याउ उम्रने लोभमा स्वयम् गाउँलेहरुले आगजनी गर्ने गरेको अनुसन्धानले देखाएको वन डिभिजन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले वताए । उनले वनमा आगलागी फैलिसकेकोले नियन्त्रण गर्न समस्या भएको बताए । भौगोलिक कठिनाइ ,जनशक्तिको अभाव, आगलागीको ढिलो सूचना प्राप्त हुने, पानी, सडक र दमकलको समेत अभावमा नियन्त्रण गर्न कठिन भएको उनले बताए ।