© २०२३
बुटवल(बुटवल टुडे) चैत ।- कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेसँगै भेन्टिलेटर र आईसीयूमा राख्नुपर्ने बिरामीको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ६४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । शनिबार एक हजार १७० जनाको परीक्षण गरिएको थियो।पीसीआर टेस्ट गरिएका १६८ जनामध्ये ४१ जनामा र एन्टिजन टेस्ट गरिएका एक हजार दुई जनामध्ये २३ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ५७ जना निको भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३५७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, काठमाडौं उपत्यकामा संक्रमण देखिएका बिरामी गम्भीर पनि देखिएका छन्। अहिले पाँच जनाको भेन्टिलेटर र आठ जनाको आईसीयूमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फेरि कोभिड–१९ संक्रमण बढ्न थालेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न, कोरोनाका लक्षण देखिने वितिक्कै स्वास्थ्य परीक्षण गर्न र आइसोलेसनमा बस्न मन्त्रालयले सुझाएको छ।यससँगै कोभिड–१९ विरुद्धको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य संस्थामा गएर आवश्यकता अनुसार, बुस्टर डोज लिन पनि अनुरोध गरेको छ ।