© २०२३
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। सत्ता गठबन्धनमा मन्त्रालय संख्या भागबन्डा टुंगिएसँगै प्रधानमन्त्रीले बिहीबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। स्रोतका अनुसार बिहीबार दिउँसो ४ बजेका लागि राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रमको आयोजना गरिएको छ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालयको नेतृत्व गर्ने भएको छ। उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी पूर्णबहादुर खड्काले पाउने भएका छन्। कांग्रेसले खड्काकै नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउन लागेको हो।
त्यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महत बन्ने भएका छन्। परराष्ट्र र स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले लिने भएको छ। यद्यपि यी दुई मन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेबारेमा कांग्रेसभित्र निर्णय भइसकेको छैन।