© २०२३
वुटवल, १४ चैत ।
नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा मंगलबार रुपन्देहीका पत्रकारहरुका लागि निःशुल्क आंखा जांच गरिएको छ । नेत्र ज्योति संघको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र जिल्ला समिति रुपन्देहीको आयोजनामा निशुल्क आखां जांँच गरिएको हो ।
आँखा जाँचअघि आयोजित संक्षिप्त शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार डा. बालकृष्ण चापागाईले पत्रकारहरुको स्वास्थ्यलाई मध्यनजर गरी महासंघले आँखा शिविर राखेर राम्रो काम गरेको बताए ।
कार्यक्रममा नेत्रज्योती संघ रुपन्देहीका सभापति कमलराज जोशीले देशैभर पत्रकारका लागि निःशुल्क आँखा शिविर आयोजना गर्ने समझदारी अनुसार रुपन्देहीमा शिविर गरिएको बताए । उनले पत्रकारहरुले समाजका लागि निकै महत्वपूर्ण काम गरेको बताउँदै नेत्रज्योती संघको ४५ औं स्थापना दिवसको अवसर पारेर सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
त्यस्तै लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान रणअम्बिका आँखा अस्पतालका निर्देशक प्रा. डा. ज्ञानेन्द्र लामिछानेले आँखामा समस्या आउदा पनि रोग पालेर बस्ने बानी धेरैजसोमा रहेकाले त्यसो नगर्न सुझाव दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकारहरु दैनिक रुपमा कप्यूटर, ल्यापटप जस्ता उपकरणसँग खेल्नुपर्ने भएकाले महासंघको केन्द्रीय कार्यक्रम अनुसार आँखा शिवर राखिएको बताए ।
रुपन्देहीका पत्रकारहरुका लागि आयोजना गरिएको निशुल्क आँखा जाँचमा ७२ जनाले परीक्षण गराएका छन । यसमध्ये ५८ जनालाई औषधी र १७ जनाको दृष्टिदोष देखिएकाले चस्मा वितरण गरिएको महासंघ रुपन्देहीका सचिव विनोद परियारले जानकारी दिए ।
शिविरमा नेत्रज्योती संघ रणअम्बिका आँखा अस्पताल भैरहवाका बरिष्ठ नेत्र अधिकृत एंव कार्यक्रम संयोजक सञ्जिव अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीहरु खटिएका थिए ।