© २०२३
काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन्। सोमबार प्रचण्डले विश्वासको मत लिने क्रममा संसद बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘हाम्रो गाउँघरतिर चलन छ, एउटा गाडी गुडाइरहेको ड्राइभरले अर्को गाडी कुदाउन खोज्छ। चलाउन जान्ने भइनसक्दै उसले अर्को गाडीतिर हामफाल्छ’, उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले त्यस्तै गर्नु भयो, गाडी गुडिनसक्दै अर्कोमा हामफाल्नु भयो।’ उनले एमाले र राप्रपाले साथ दिएर गुडेको गाडीबाट अचानक किन प्रचण्डले हामफाले भन्ने आफूले बुझ्न नसकेको बताए।
‘अहिले त उहाँ अर्को गाडीमा चढिसक्नु भएको छ। अब हाइड्रोजनबाट चल्ने गाडी चढ्ने भन्नु भएको छ’, उनले भने, ‘यसरी गाडी फेर्दै हिँड्ने चालक अनुभवी त हुन्छ तर ढुक्कै भर गर्न सक्ने हुँदैन।’ उनले प्रचण्डलाई अहिलेकै अवस्थामा विश्वासको मत दिन नसक्ने पनि बताए।