© २०२३
गुल्मी, फागुन– गुल्मीमा पासोमा अल्झीएको चितुवा मृत अबस्थामा भेटीएको छ । जिल्लाको छत्रकोट गाउँपालिका २ अन्र्तगत मनबागमा आईतबार भाले चितुवा मृत अबस्थामा मृत फेला परेको हो । स्थानीय धन बहादुर घर्तिको खर्यान छेउँको सडक नजिकै चितुवा फेला परेको हो । चार मिटर भन्दा बढी लम्बाई र ४५ किलो तौल रहेको चितुवा मृत अवस्था फेला परेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
पासोमा परेको उक्त चितुवा बिहान मृत अबस्थामा फेला परेको हो । पासो चुँडाएर भाग्ने क्रममा शक्त घाईते अबस्थामा रहेको उक्त चितुवाले आक्रमण गर्दा स्थानीय ४० वर्षीय केशव पालुङ्गे समेत सामान्य घाईते हुनुभएको छ । स्थानीयले बिहान चितुवा फेला परेको जानकारी दिएपछि डिभिजन वन कार्यालय तम्घासवाट सहायक वन अधिकृत मुना शर्माको नेतृत्वमा टोली घटना स्थल पुगेको थियो ।
मृत अबस्थामा भेटीएको चितुवालाई स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा मुचुल्का गरि डिभिजन वन कार्यालयमा ल्याई कार्यालय परिशरमा खाल्डो खनि गाडिएको छ । गत वर्ष छत्रकोट गाउँपालिकाको लुम्छामा पनि यसैगरि पासो बाँधिएकै अबस्थामा मरेको चितुवा फेला परेको थियो । केही महिना अघि पनि गुल्मीदरबार गाउँपालिकामा घाईते अबस्थामा फेला परेको चितुवालाई उद्धार गरि रेसुङ्गा संरक्षित वन क्षेत्रमा लगेर छाडिदिएको डिभिजन वन कार्यालय गुल्मीका निमित्त डिभिजन वन अधिकृत रामकुमार चौधरीले जानकारी दिनु भएको छ ।
जिल्लामा पछिल्लो समयमा चितुवा गाईवस्तुहरुको गोठसम्म पुगेर मानिस तथा पशु चौपायाहरुलाई आक्रमण गर्ने क्रम बढ्दै जान थालेको छ ।