© २०२३
सल्यान, फागुन । निःशुल्क आँखा शिविर मार्फत सल्यानको कालिमाटीमा ९४ जनाले नयाँ दृष्टी पाएका छन् । आँखा उपचारको पहुँचबाट टाढा रहेका ९४ जनाको मोतियाविन्दुको सल्यक्रिया गरिएको हो भने ४३० जनालाई चश्मा पनि वितरण गरिएको छ । कालिमाटी गाउँपालिकाको व्यवस्थापनमा वडा नम्बर ३ स्थित रामपुर स्वास्थ्य चौकीमा राप्ती आँखा अस्पताल रक्षाचौर दाङले शिविरको आयोजना गरेको हो ।
बुधबार देखि विहिबार सम्म सञ्चालन भएको शिविरमा निःशुल्क रुपमा सल्यक्रिया, चश्मा वितरण र आँखा चेकजाँच गरिएको थियो । शिविरमा जम्मा ७२३ जनाले आँखाको परिक्षण गराएको कालिमाटी गाउँपालिकाका स्वास्थ्य संयोजक गोरख थापाले जानकारी दिए । आर्थिक अभावमा कसैले पनि दृष्टीविहिन जीवनविताउन नपरोस् भन्ने हेतुका साथ आयोजना गरिएको शिविरमा चश्मा प्रयोग आवश्यक रहेका ४० वर्ष माथीका नागरिकलाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।
मोतीविन्दुको सल्यक्रिया पश्चात उज्यालो पाएका स्थानीयहरुले आफ्नै गाउँठाउँमा निःशुल्क रुपमा आँखाको उपचार पाएकोमा खुसी व्यक्त गरेका छन् । शिविरमा राप्ती आँखा अस्पताल रक्षाचौर दाङबाट डाक्टर सुरेश रसाइली नेतृत्वको १२ जनाको प्राविधिक टोलि खटेको थियो ।
शुक्रबार आयोजित शिविर समापन कार्यक्रममा कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले ग्रामिण भेगमा अझै पनि आँखाका रोगीको उपचार हुन नसकेको अवस्थामा त्यसको निराकरणका लागि शिविरले ठूलो टेवा पुर्याएको बताए । आफुहरु पालिकावासिको स्वस्थ जिवनका लागि संवेदनशिल रहेको बताउँदै उनले गुणस्तरिय स्वास्थ्य सेवाको लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
वडा नम्बर ३ का वडा अध्यक्ष शिव बहादुर खत्रीको अध्यक्षतामा भएको शिविरसमापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अकिृत कृष्ण प्रसाद पौडेल लगाएतको सहभागिता थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य संयोजक गोरख थापाले गरेका थिए ।