© २०२३
निरु गुरुङ (मनु)
बुटवल, १९ फागुन ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा अभियानपथको बाउण्ड्री निर्माण थालिएको छ । उक्त बाउण्ड्रीको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शिलान्यास गरेका छन् ।
त्यस अवसरमा बोल्दै उनले अभियान पथलाई बुटवलकै स्तरीय बाटोको रूपमा निर्माण गरिने बताए । बाउण्ड्रीले सडक फराकिलो हुने दावी गर्दै निर्धारित समयमा नै यो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई उनले निर्देशन दिए । नगरप्रमुख पाण्डेले नेपाली सेनाको जग्गा पाउनु ठुलो कुरा रहेको बताउँदै यो जग्गा प्राप्तिको लागि लामो समय लागेपनि आज जग्गा प्राप्तिपछिको सुखद क्षणमा आएको बताए ।
नगरप्रमुख पाण्डेले अभियान पथलाई बुटवलको गर्व, गुणस्तरीय र बुटवलको मुख्य सडकको रूपमा विकास गरिने प्रतिवद्धता व्यक्त गरे । विकास निर्माणका काममा सबैको सहयोग आवश्यक रहेकाले यसमा सबैले साथ दिन जरूरी रहेको उनले बताए ।
कार्यक्रममा वडअध्यक्ष बलु पुनले सडक बिस्तार तथा वाउण्ड्री वाल निर्माणका लागि संघीय सरकारबाट बजेट प्राप्त भएको बताउँदै ४ करोड ५८ लाख ३० हजार ८ सय ४४ रूपियाँ कुल लागत लाग्ने बताइएको छ । शिवशक्ति उमा एण्ड कम्पनी कालिका जेभीले ४ करोड १० लाख ७६ हजार ४ सय ८३ रूपियाँमा २०७८ जेठ २४ गते ठेक्का सम्झौता गरिएको हो । सो आयोजना आगामी असारमा निर्माण सम्पन्न गरिसक्नु पर्ने वडाअध्यक्ष पुनले जानकारी दिए ।
कार्यक्रममा मध्य पश्चिम पृतनापति यम प्रसाद ढकालले अभियान पथ बाटो मात्रै नभएर बुटवलबासीको विकासको सुचक भएको बताए । कार्यक्रममा योजना महाशाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठले योजनाको बारेमा प्रकाश पारेका थिए । वडाअध्यक्ष पुनले सहयोग गर्ने पश्चिम पृतना बुटवलका कार्यालय प्रमुख यमप्रसाद ढकाल, लुम्बिनी प्रदेश तालिम केन्द्रका एसएसपी विनोद घिमिरेलाई धन्यवाद दिए । कार्यक्रममा वडाबासी, राजनीतिक दलका नेताहरु, टोलविकास सस्थाका अध्यक्षहरु सहकारी संस्थाका अध्यक्षहरु, स्वयंसेविकाहरु, आमा समूहका अध्यक्षहरु, खानेपानी तथा सरसफाइका अध्यक्षहरु तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।