© २०२३
चन्द्रौटा (कपिलवस्तु), फागुन ।- कपिलवस्तुको कृष्णनगर नगरपालिकाले विकास निर्माणका कार्यमा लापरवाही गरेको पाइएको छ । नगरभित्रको सडक, भवन, नाली लगायत विकास निर्माणका कार्यमा लापरवाही गरेको पाइएको हो । नगरको मातहतमा हुने गरेको कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीयले गुनासो गरेका छन् । जनप्रतिनिधि, इन्जिनियर र उपभोक्ता समितिहरुको मिलेमतोमा कमसल सामग्रीको प्रयोग गरेको आरोप छ ।नगरपालिकाले विकास निर्माणको कार्यमा लाखौं रकमको दुरुपयोग गरिरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार वडा नम्बर–८, मा परेको नगरस्तरीय योजना डबरा लिंक रोडदेखि समयथान हँदै दयानगरसम्म मर्मतसम्भार भएको सडक योजनामा लाखौं रकमको अनियमितता भएको छ ।
नगरपालिकाको दश लाख र उपभोक्ता समितिको जन श्रमदान १ लाख ८२ हजार १ सय ११ रुपैयाँ ११ लाख ८२ हजार १ सय ११ रुपैयाँमा ५ सय ५१ मिटर लामो सडक मर्मत भएको जनाइएको छ । उक्त सडक ४.५० मिटर चौडा, १ फिट उँचाई, माटो र माटोमाथि १५ सेन्टिमिटर मोटो ग्रेभेल गरी मर्मत गर्ने योजना रहेको नगरपालिकाका सब–इन्जिनियर मनिष पाण्डेले बताए ।
नाम नखुलाउने शर्तमा एक स्थानीयले सडक मर्मत योजनामा जनप्रतिनिधिहरुले आफ्नो आसेपासे, कार्यकर्ता पाल्ने काम गरेको बताए । उनका अनुसार यस सडकमा गत वर्ष पनि ५ लाख रुपैयाँ बजेटमा सडक निर्माण भएको बताउँदै यस पटक मर्मतमा २२ ट्रालि माटो र १५ ट्राली ग्रेभेल मात्रै खसाल्ने काम भएको छ ।
उनले थपे ः“सडकमा लागेको ह्युम पाइप पनि दयानगर गाउँमा रहेको पुरानो ह्युम पाइप लगाइएको छ । गत वर्षको बजेटमा बनेको सडकलाई पुनः त्यही माथि हल्का माटो खसाल्दै जेसीबी मेसिन चलाउने काम भएको छ ।“ सबै मिलेर बजेट सकाउने काम गरेको भन्दै जनताको पैसा भष्ट्राचार गरेको आरोपसमेत लगाए । उक्त सडकमा ३ लाख बराबरको काम मात्रै भएको उनले बताए ।
दयानगरबासीले उपभोक्ता समितिका पदाधिकारीहरु पनि स्थानीय नभएर अन्य गाउँका रहेको बताएका छन् । हरेक निर्माण कार्यमा अनियमितता हुँदै गर्दा पनि नगरपालिकाले ध्यान नदिएको स्थानीय बताउँछन् । स्थानीयहरुले सडक मर्मत उपभोक्ता समितिबारे उपभोक्ता समितिका पदाधिकारीहरु हस्ताक्षर गर्ने काम मात्रै गरेको आरोप लगाए । बाँकी निर्माण मर्मत कार्य अन्यले गर्ने गरेको समेत स्थानीयले गुनासो पोखे । यता नगरपालिकाका इन्जिनियर प्रदीप कुमार चौधरीले सडक मर्मत योजनाको कार्य लगभग सम्पन्न भइसकेको जानकारी दिए । सडक मर्मत योजनालाई हेर्ने साइट सब–इन्जिनियर मनिष पाण्डेलाई जिम्मा रहेको जनाउँदै उपभोक्ता समितिका पदाधिकारीहरुको नाम, सम्पर्क नम्बरसमेत जानकारी नभएको बताए । इन्जिनियर पाण्डेलाई सडक मर्मत योजनाको स्टिमेटको जानकारी नभएको बताउँदै आफू फिल्डमा भएकोले विवरण हेर्न समय लाग्ने बताए । प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले प्राविधिक कुरा जानकारी नभएको जनाउँदै स्थलगत अनुगमन गरि बिल भौचरको आधारमा बिल पास गर्ने गरेको उनको भनाइ छ ।