© २०२३
बुटवल, फागुन- वि.स. २०७७ सालमा बुटवल–१४ र १५ का किसानहरुले उत्पादन गरेको कृषिजन्य उत्पादन बजारीकरणमा समस्या थियो । बुटवलको कृषि पकेटको रुपमा रहेको साविक सेमलार र मोतिपुर गाविसका अधिकांस स्थानमा अहिले पनि कृषि खेती हुन्छ । व्यवसायीक पशुपालन समेत बुटवल उपमहानगरपालिका १४ देखि १९ नम्बरका वडाहरुमा हुँदै आएको छ ।
२०७७ सालमा किसानहरुको भेलाबाट जन्मीयो ‘बुटवल जैविक कृषक समुह’ । सोही समुहले बुटवल–१५ उजेलापुरमा संकलन केन्द्र समेत बनायो । वि.स. २०७७ सालमा स्थानीय विष्णु प्रसाद ढकाललको स्वामित्वमा रहेको जग्गा २० बर्षका लागि भाडामा लिएर समुहले २०७८ सालमा बुटवल जैविक कृषि उपज संकलन केन्द्र समेत बनायो । सानो कृषक समुहबाट सुरुवात भएको समुहले आफ्नै संकलन केन्द्र समेत एक बर्षमा निर्माण सम्पन्न गर्न सफल भयो ।
समुहका अध्यक्ष रामनाथ मालीका अनुसार बुटवल उपमहानगरापलिकाको आर्थिक सहयोगमा कोल्ड चेम्बर (चिस्यान केन्द्र) समेत सोही संकलन केन्द्रमा निर्माण गरिएको छ भने प्रदेशको कृषि व्यवसाय प्रर्वद्धन तथा तालिम केन्द्र खजुराको सहयोगमा संकलन केन्द्र निर्माण गरिएको छ ।
समुहबाट कृषि संकलन केन्द्र निर्माण गरेको उक्त समुहले दैनिक रुपमा आफ्ना सदस्य कृषक सहित अन्य किसानबाट उत्पादन भएको तरकारी लाई संकलन गरी संकलन केन्द्रमा राख्ने र बुटवल लगायतका विभिन्न स्थानमा बजारीकरण गर्दै आएको छ ।
बुटवल कृषि उपज थोक बजार केन्द्र संगको सहकार्यमा समुहमा संकलन भएका तरकारी बजारीकरण हुदै आएका हुन । जहाँ दैनिक जसो किसानले आफुले उत्पादन गरेको तरकारी संकलन केन्द्रमा नै लगेर जम्मागर्ने गर्दछन्, जहाँबाट बुटवलका विभिन्न व्यवसायीहरुले तरकारी खरिदगरी लैजाने गर्दछन् ।
समुहबाट संकलन केन्द्र हुँदै अहिले प्रशोधन उद्योग समेत चलाएको छैन समुहबाट सहकारी समेत स्थापना भएको छ । लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको सहयोगमा ‘बुटवल जैविक प्रशोधन उद्योग’ स्थापनाको लागि भवन निर्माण गरिएको छ । सहकारीको लागत साझदारीमा अहिले विभिन्न बस्तु प्रसोधन उत्पादन र बजारीकरण हुदै आएका छन् ।
समुहबाट सहकारी सम्म अध्यक्ष सम्हालेका सफल किसान समेत रहेका रामनाथ मालीका अनुसार अहिले अहिले दैनिक २ देखि ३ क्वीन्टल सम्म संकलन भएको तरकारी बाट प्रसोधन गरी अचार, मस्यौरा, सिन्की, मकैको पिठो, गुन्द्रुक लगायतका विभिन्न परिकार बनाएर विक्रि वितरण समेत हुदै आएको छ ।
सहकारीमा हाल ७९ जना सदस्यहरु रहेका छन् । अन्य कृषकहरु समेत सदस्य बनाउने गरी सदस्य विस्तार कार्यक्रम समेत जारी राखिएको सहकारीका उपाध्यक्ष जनक गौतम बताउँछन् । ७७ सालमा समुहबाट स्थापना भई ७९ साल समा सहकारी सहित प्रसोधन उद्योग समेत सञ्चालन गरी आँट किसानहरुले गरेका छन् ।
सहकारीको आफ्नो ढुवानीको साधन अभावको कारण किसानबाट तरकारी, फलफुल संकलन गर्न र संकलित बस्तु विक्रि वितरणको लागि समेत समस्या भएको सहकारीका अध्यक्ष राम नाथ मालीको भनाई छ । अध्यक्ष माली भन्छन्–‘ हामीलाई ढुवानीको साधान अनिवार्य छ, यसको लागि विभिन्न निकायसंग माग गरेका छौं । ’
किसानबाट संकलन भएको तरकारी अहिले दैनिक ५ देखि ७ क्वीन्टल सम्म हुने गर्दछ । प्रति किलो २ रुपैयाँ मात्रै नाफा सहकारीले राखेर तरकारी अन्य व्यवसायीलाई विक्रि गर्दै आएको सहकारीका सचिव राजन ढकालको भनाई छ । सहकारीमा सदस्य बन्नको लागि कृषि तथा पशुपालन क्षेत्रमा लागेको हुनुपर्ने नियम बनाइएको छ ।
बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख कृषि अधिकृत सन्तोष जिसीका अनुसार बुटवल उपमहानगरपालिकाका सबैभन्दा पहिला ४ क्र.स.मा स्थापना भएको कृषक समुहले समुहबाट प्रसोधन उद्योग हुदै सहकारी सम्मको यात्रा फड्को मार्नु आफैमा गौरवको विषय भएको बताउँछन् । उनि भन्छन्–‘किसान आफै सदस्य , आफै सञ्चालक, आफै शेयर सदस्य भएर सञ्चालन गरिएको यो सहकारी आफैमा नमुना रहेको छ । ’
बुटवल उपमहानगरपालिकाले संकलित बस्तु भण्डारको लागि कोल्ड चेम्बरको स्थापनाको लागि सहयोग गरेको उनको भनाई रहेको छ । यसबाट गाउँको अर्गानिक तरकारी बजारीकरण गर्नमा ठुलो योगदान पुगेको उनको भनाई छ । बुटवल उपमहानगरापलिकाको समेत लागत साझेदारीमा सञ्चालनमा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्रमा सोही सहकारी बाट उत्पादनभएका प्रशोधीत बस्तु विक्रि वितरणका लागि कोशेली घर स्थापना लागि आफुले पहल गर्ने समेत प्रतिवद्धता बुटवल उपमहानगरपालिकाका प्रमुख खेजराज पाण्डेयले बताउँछन् । उनले किसानको अर्गानिक बस्तु बजारीकरणका लागि नगरपालिका जहिले पनि सकारात्मक रहेको समेत बताए ।
बुटवल उपमहानगरपालिकामा कुल २९ सयस ६० हेक्टर क्षेत्रफल कृषिका लागि योग्य रहेपनि हाल २६ सय ८० हेक्टर क्षेत्रफलमा कृषि कार्य हुदै आएको बुटवल उपमहानगरपालिकाको तथ्यांक छ । बुटवल उपमहानगरापलिका वडा नम्बर १५ को कर्साघाट क्षेत्रमा निर्माण हुने भनिएको बुहउदेश्यीय कृषि बजारको लागि समेत बुटवल जैविक कृषि उपज सहकारी संस्था सहयोगी हुने अपेक्षा गरिएको छ । कृषि बजार स्थापनाको लागि जग्गा प्राप्तीको फाईल अगाडी बढ्न नसक्दा अहिले काम अगाडी बढ्न सकेको छैन । दातृ नियका नेदरल्याण्ड सरकारको सहयोगमा कर्साघाट क्षेत्रमामा कोल्ड स्टोर सहितको कृषि बजार स्थापना गर्ने नगरपालिकाको योजना छ ।