© 2026
बुटवल ।
मौलिकता र परम्पराको संरक्षणसँगै सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बुटवल विद्यार्थी क्लबले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई न्यानो कपडा तथा खाद्यान्न सामग्री वितरण गरेको छ।
क्लबले यस वर्षको देउसी–भैलो कार्यक्रम–२०८३ मार्फत संकलित सहयोग रकमबाट बुटवल उपमहानगरपालिका–२, तल्लो फूलबारीस्थित श्री सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैँजु वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको हो।
चिसो मौसम सुरु भएसँगै ज्येष्ठ नागरिकलाई राहत पुर्याउने उद्देश्यले गरिएको सहयोगबाट वृद्धाश्रममा आश्रित आमाबुवाको मुहारमा खुसी छाएको क्लबले जनाएको छ।
क्लबका अनुसार ज्येष्ठ नागरिकको मुस्कान र आशीर्वाद नै यस अभियानको सबैभन्दा ठूलो उपलब्धि हो।
देउसी–भैलो कार्यक्रममा घरदैलोमा स्वागत गर्दै सहयोग गर्ने सम्पूर्ण टोलवासी, अभिभावक तथा शुभचिन्तकप्रति क्लबले आभार व्यक्त गरेको छ।
विशेषगरी विगतमा क्लबमा सक्रिय रही नेतृत्वदायी भूमिका निर्वाह गरेका र हाल उच्च शिक्षाका लागि विदेशमा रहेका पूर्वविद्यार्थी तथा पूर्वसदस्यहरूले परदेशमा रहेर पनि आर्थिक सहयोगमार्फत पुर्याएको योगदानप्रति क्लबले कृतज्ञता व्यक्त गरेको छ। यसैगरी, सामाजिक कार्यमा सहकार्य गर्ने सहयात्री संस्थाहरू 4KO र Bright Vision Education प्रति पनि क्लबले धन्यवाद व्यक्त गरेको छ।
क्लबले परम्पराको संरक्षणसँगै समाजप्रतिको उत्तरदायित्वलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साथै, आसपासका नागरिकलाई फुर्सदको समयमा वृद्धाश्रम पुगेर ज्येष्ठ नागरिक आमाबुवासँग समय बिताउन आग्रह गरेको छ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष अर्जुन शाह ठकुरी, देउसी–भैलो कार्यक्रम तथा सहयोग वितरण संयोजक प्रशान्त थापा, अनिज क्षेत्री, कपिल श्रेष्ठ, रोशन थापा, आर्थिक संयोजक विजय घिमिरे, मोनिका कुँवर र मनोज श्रेष्ठ तथा कार्यक्रम सञ्चालक डेनिस गाहाले सक्रिय भूमिका निर्वाह गरेका थिए।