प्रतिमा गौतम
बुटवल । बिहान घरको काम र छोराछोरीको हेरचाहमा बिताउने सबिता बिक दिउँसो भने सुनका ससाना टुक्रालाई विभिन्न डिजाइनका गरगहनामा बदल्न व्यस्त हुन्छिन् । सुन पगाल्ने, तार बनाउने, त्यसलाई आकार दिने र आकर्षक गहना तयार गर्ने उनको दैनिकी १३ वर्षदेखि यसरी नै चलिरहेको छ ।
तिलोत्तमा नगरपालिका–४, सुनौलोनगरकी सबिता बुटवलको अमरपथस्थित बुद्धचोक नजिकै सुनका गरगहना बनाउने कालीगढका रूपमा कार्यरत छिन् । उनले बनाउने फेन्सी तथा बङ्गाली डिजाइनका गहनाले उनलाई व्यावसायिक पहिचान मात्र दिएको छैन, आफ्नै आम्दानीबाट परिवार चलाउन सक्ने आधारसमेत बनाएको छ । काम र गहनाको परिमाणअनुसार ज्याला पाउने उनले मासिक औसत ४५ हजारदेखि एक लाख रूपैयाँसम्म आम्दानी गर्ने बताउँछिन् ।
सुनचाँदीका गरगहना बनाउने पेसामा परम्परागत रूपमा पुरुष कालीगढको वर्चस्व छ । यस्तो क्षेत्रमा महिला कालीगढका रूपमा काम सुरु गर्दा सबितालाई पनि सहज थिएन । न त यो उनको पुख्र्यौली पेसा थियो, न यसअघि सुनका गहना बनाउने कुनै अनुभव नै । तर, सीप सिकेर आफ्नै खुट्टामा उभिने चाहनाले उनलाई यो पेसासम्म पु¥यायो ।
१३ वर्षअघि सुनचाँदी व्यवसायी सङ्घले आयोजना गरेको तालिममा सहभागी भएपछि उनले गरगहना बनाउने काम सिक्न थालेकी हुन् । तालिममा आधारभूत सीप सिकेपछि काम गर्दै अभ्यास बढाइन् । सुरुमा सामान्य कामबाट थालेकी उनले अहिले पञ्चजाली, कोषे औँठीलगायत विभिन्न डिजाइनका गहना बनाउन सक्ने भएकी छन् ।
‘सुरुमा यो काम गर्न सकिन्छ कि सकिँदैन भन्ने लाग्थ्यो । तर, सीप सिक्दै र अभ्यास गर्दै जाँदा आत्मविश्वास बढ्दै गयो । अहिले आफैँ गहना बनाउन सक्छु,’ सबिता भन्छिन्, ‘यसले मलाई आफ्नै खुट्टामा उभिन सहयोग गरेको छ ।’
तीन छोराको हेरचाह र घरपरिवारको जिम्मेवारीसँगै नयाँ पेसा अँगाल्नु उनका लागि अर्को चुनौती थियो । श्रीमान् वैदेशिक रोजगारीमा रहेकाले घरको अधिकांश जिम्मेवारी उनकै काँधमा थियो । घरायसी काम सकेर दिउँसो कार्यस्थल पुग्ने र काम सकेपछि फेरि परिवारको जिम्मेवारी सम्हाल्ने उनको दिनचर्या बन्यो । पारिवारिक दायित्वका कारण सीपलाई निरन्तरता दिन कठिन भए पनि उनले काम छाडिनन् ।
तिलोत्तमास्थित ज्ञानज्योति उच्च माध्यमिक विद्यालय, डिङ्गरनगरमा कक्षा १२ सम्म अध्ययन गरेकी सबिताले औपचारिक शिक्षापछि रोजगारीका लागि विदेश जाने वा अरूको भर पर्ने बाटो रोजिनन् । तालिमबाट सिकेको सीपलाई पेसामा बदल्ने प्रयास गरिन् । अहिले कामको माग, गहनाको डिजाइन, तौल र संख्याका आधारमा उनको ज्याला निर्धारण हुन्छ ।
पुरुष कालीगढकै बिचमा काम गर्दा सुरुमा सामाजिक दृष्टिकोण र पारिवारिक जिम्मेवारी दुवैसँग जुध्नुपरेको उनी बताउँछिन् । महिलाले पनि सुनका गहना बनाउन सक्छन् भन्ने विश्वास धेरैमा नरहेको उनको अनुभव छ । तर, निरन्तरको अभ्यास र कामप्रतिको इमानदारीले रोजगारदाताको विश्वास जित्न सफल भएको उनी बताउँछिन् ।
‘पहिले सुनचाँदीको काममा पुरुषहरू मात्रै देखिन्थे । महिलाले पनि यो काम गर्न सक्छन् भन्ने धेरैलाई विश्वास थिएन,’ उनी भन्छिन्, ‘मेहनत र सीप भयो भने महिलाले पनि राम्रो गर्न सक्छन् भन्ने मैले आफ्नै कामबाट देखाएकी छु ।’
सबिताका लागि यो पेसा आम्दानीको माध्यम मात्र होइन, आत्मसम्मानसँग पनि जोडिएको छ । आर्थिक अभावका कारण भोग्नुपरेको अपमान र अरूको भर पर्नुपर्ने अवस्थाले उनलाई आफ्नै आम्दानी गर्न प्रेरित गरेको थियो । वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले पैसा कमाउन गरेको दुःख पनि उनले नजिकबाट देखेकी छन् । त्यसैले परिवारको आर्थिक भार कम गर्न र आफूलाई सक्षम बनाउन सीपलाई निरन्तरता दिएको उनी बताउँछिन् ।
तर, पेसामा स्थापित हुँदैमा उनका चुनौती सकिएका छैनन् । कार्यस्थलमा पुरुषको बाहुल्य, महिलाको कामप्रति समाजको दृष्टिकोण, कामको प्रतिस्पर्धा र सुनचाँदीका सामग्रीसँग काम गर्दा रासायनिक पदार्थको सम्पर्कले हातमा पर्ने असर उनका समस्या हुन् । महिलाले घरबाहिर काम गर्दा समाजले गर्ने प्रश्न र टिप्पणीले पनि सुरुवाती दिनमा अप्ठ्यारो बनाएको उनको अनुभव छ ।
‘दिनभरि कहाँ गएकी, के काम गरेकी भन्ने प्रश्न पनि आउँथे । काम गर्दा प्रयोग हुने रसायनले हातमा असर गर्छ । काम पाउन पनि प्रतिस्पर्धा गर्नुपर्छ,’ उनी भन्छिन्, ‘तर, कामप्रति इमानदार भए र सीप राम्रो बनाए टिक्न सकिन्छ ।’
बुटवलको सुनचाँदी बजारमा विगतमा भारतीय कालीगढमाथिको निर्भरता बढी थियो । अहिले पनि स्थानीय दक्ष जनशक्तिको आवश्यकता पूरा भइसकेको छैन । यस्तो अवस्थामा सबिताजस्ता स्थानीय कालीगढले सीपका आधारमा बजारमा आफ्नो स्थान बनाउनु महत्वपूर्ण देखिन्छ । उनले आफूले बनाएका गहनाको गुणस्तर र कामप्रतिको इमानदारीबाट रोजगारदाताको विश्वास जितेको बताउँछिन् ।
आफूले सिकेको सीप आफैँमा सीमित नराखी अरू महिलासम्म पु¥याउने प्रयास पनि उनले गरेकी छन् । सबिताकै प्रशिक्षणमा बुटवलका १७ जना महिलाले सुनका गरगहना बनाउने सीप सिकेका छन् । महिलालाई घरायसी कामसँगै आयआर्जनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले आफूले जानेको सीप सिकाउँदै आएको उनी बताउँछिन् ।
‘मैले सिकेको सीप अरू महिलालाई पनि सिकाउन पाउँदा खुसी लाग्छ । महिलाहरू आफैँले सीप सिकेर आम्दानी गर्न सकून् भन्ने चाहना छ,’ उनी भन्छिन्, ‘घरको कामसँगै आफ्नै पेसा पनि गर्न सकिन्छ भन्ने कुरा अरू महिलाले बुझ्नुपर्छ ।’
बुवा ज्ञानबहादुर बिक र आमा डिलकुमारी बिकले छोरीले पनि केही गर्नुपर्छ भनेर सधैँ हौसला दिएको उनी सम्झन्छिन् ।
अहिले आफ्ना छोराहरूले पनि सीपको महत्त्व बुझून् र आफूले जानेको काममा गर्व गर्न सकून् भन्ने उनको चाहना छ । श्रीमान्लाई वैदेशिक रोजगारीबाट फर्काएर परिवारसँगै स्वदेशमै काम गर्ने वातावरण बनाउने इच्छा पनि उनले राखेकी छन् । ‘पैसा कमाउन आँट र हिम्मत चाहिँदो रहेछ । घामपानीमा काम गर्न नपरी घरभित्रै बसेर पनि सीपका आधारमा आम्दानी गर्न सकिन्छ,’ उनी भन्छिन्, ‘आफ्नै कमाइबाट खर्च गर्न पाउँदा आत्मसम्मान मिल्दो रहेछ ।’
सबिताको अनुभवले तालिमबाट प्राप्त सीपलाई निरन्तर अभ्यास र मेहनतसँग जोड्न सके त्यसलाई रोजगारी तथा आम्दानीको माध्यम बनाउन सकिने देखाउँछ । सुनका गहना बनाउने पुरुषप्रधान पेसामा १३ वर्षदेखि काम गर्दै आएकी उनले आफूलाई मात्र आत्मनिर्भर बनाएकी छैनन्, १७ महिलालाई सीप सिकाएर आयआर्जनको सम्भावनासमेत देखाएकी छन् ।