Butwal Today

तीन तहका सरकार: कति सहज, कति अप्ठेरो ?

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

नेपालगन्ज
लुम्बिनी प्रदेशका मन्त्री इन्द्रजीत थारु, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका उपमेयर संगीता सुवेदीले तीन तहका सरकारका बीचमा समन्वयमा अभाव रहेको स्वीकार गरेकाछन् ।
धारा नेपालगन्ज म्याथनको अवसरमा जारी नेपालगन्ज कनक्लेभको तेस्रो सेसनको तीन तहका सरकारः कति सहज, कति अप्ठेरो ? भन्ने शीर्षकको बहसमा मन्त्री, मेयर र उपमेयरले योजना समन्वयमा अभाव देखिएको भन्दै उक्त कुरा स्वीकार गरेका हुन् । प्यानालिष्ट मन्त्री थारु, मेयर विष्ट र उपमेयर सुवेदीले संघको योजनामा रहेको बाटो बिग्रिदा प्रदेश र स्थानीय सरकारले गाली खानु परिरहेको बताए । ‘संघको योजना बन्दा र काम हुँदा समन्वय हुँदैन, बिग्रेपछि प्रदेश र स्थानीय सरकारले गाली खान्छ,’ उनले भने ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री इन्द्रजीत थारुले संविधानमा लेखिएको सबै अधिकार संघबाट प्रदेशमा हस्तान्तरण नहुँदा समस्या भइरहेको बताए । उनले संघीय निजामति ऐन, प्रहरी समायोजन नहुँदा समस्या भइरहेको बताउँदै स्रोत साधन संघले ४० र प्रदेश तथा स्थानीयले ६० प्रतिशत पाउने व्यवस्था हुनुपर्ने बताए । मन्त्री थारुले हिजोका शासक र जनप्रतिनिधिले शासन गर्थे भने अहिलेकाले सेवा गरिरहेको बताए ।
नेपालगन्जका मेयर विष्टले संघ र प्रदेशले योजना दिनुअघि स्थानीय सरकारसँग समन्वय गर्न जरुरी रहेको बताए । संघले खटनपटन गर्ने प्रमुख प्रशासकीय अधिकृतको छिटो सरुवा हुँदा काममा बाधा परेको विष्टको भनाई थियो । उनले संस्थागत घरबहाल कर, इरिक्सा व्यवस्थापनजस्ता कुरा स्थानीय तहले सहजीकरणबाहेक केही गर्न नसकेको बताए ।
कोहलपुरका उपमेयर सुवेदीले स्थानीय तहले गर्न नसक्ने कामका लागि पनि जनताले दबाब दिने गरेको बताइन् । उनले प्रदेश र स्थानीय तहको कानून बाँझिएकाले काम गर्न गाह्रो भइरहेको बताइन् । उपमेयर सुवेदीले विकास पूर्वाधार निर्माणमा प्रदेश र संघका जनप्रतिनिधिको रुचीले बाधा पुग्ने गरेको बताइन् ।
यो सेसनको तुला अधिकारीले मोडरेटर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?