© 2026
रोल्पा ।
रोल्पाको लुङ्ग्री गाउँपालिका–६, भाग्यडाँडामा बोलेरो जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी सुनछहरी गाउँपालिका–४, झिन्जाकी १८ वर्षीया खिमसरी सुनारको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मंगलबार साँझ भएको सडक दुर्घटनामा मोटरसाइकल चालक प्रेम चुनारा र पछाडि सवार खिमसरी सुनार गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको थियो । उपचारकै क्रममा खिमसरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मंगलबार साँझ भक्तेचौरबाट बडाचौरतर्फ गइरहेको लु १ ज १७५३ नम्बरको बोलेरो जीप र विपरीत दिशाबाट आउँदै गरेको लु ४२ प ८९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा बोलेरो र मोटरसाइकल दुवैमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । जीपमा चालक पारस रोका मात्रै सवार रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।