© 2026
रोल्पा ।
देशभर पत्रकारमाथि भइरहेको धरपकड, सञ्चारमाध्यममा सरकारी हस्तक्षेप तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गतिविधिको विरोधमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ ।
सरकारले पत्रकार तथा सञ्चार क्षेत्रमाथि पछिल्लो समय चालेका कदमहरू लोकतान्त्रिक मूल्य, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको मर्मविपरीत रहेको भन्दै महासंघले ध्यानाकर्षण गराएको हो ।
जिल्ला प्रशासन कार्यालय रोल्पाको परिसरबाहिर आयोजित विरोध कार्यक्रममा पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा, सञ्चारकर्मीको सुरक्षा तथा पेशागत अधिकार सुनिश्चित गर्न माग गरेका थिए । उनीहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यले गरिने गतिविधि तत्काल रोक्न आग्रह गरेका छन् ।

प्रदर्शनमा नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष खुविना सुनारी मगर, संस्थापक सभापति काशीराम डाँगी, निवर्तमान अध्यक्ष नवीन लोचन मगरलगायत जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यमका प्रमुख, प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सुरक्षाकर्मीको समेत उपस्थिति थियो ।
विरोधका क्रममा सहभागीहरूले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अन्त्य गर्न, पत्रकारमाथि भइरहेको धरपकड रोक्न, श्रम अधिकारको प्रत्याभूति गर्न तथा सञ्चारमाध्यममा सरकारी दबाब र नियन्त्रण बन्द गर्न माग गरेका थिए । उनीहरूले प्रेस स्वतन्त्रता विरोधी प्रावधान समेटिएको प्रेस काउन्सिलसम्बन्धी अध्यादेश फिर्ता लिनसमेत सरकारसँग आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष खुविना सुनारी मगरले पत्रकारिता लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सरकारले सञ्चारकर्मीमाथि अनावश्यक दबाब सिर्जना गर्न नहुने बताइन् । पत्रकारले समाचार संकलन तथा प्रकाशनका क्रममा कुनै विषयमा गल्ती गरेमा त्यसको समाधानका लागि स्थापित कानुनी र संस्थागत संयन्त्र हुँदाहुँदै सरकारी निकायले एकपक्षीय ढंगबाट कारबाही गर्ने वा सञ्चारकर्मीलाई त्रसित पार्ने व्यवहार उचित नहुने उनको भनाइ थियो ।
उनले पत्रकारमाथि छानबिन गर्नुपर्ने अवस्था आएमा सम्बन्धित निकाय र कानुनी प्रक्रियाको पालना गर्नुपर्नेमा जोड दिँदै पत्रकारको पेशागत मर्यादा, सुरक्षा र स्वतन्त्रतामाथि आँच पुर्याउने गतिविधि स्वीकार्य नहुने बताइन् । प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ तथा अन्य सम्बन्धित निकायहरू पत्रकारितालाई जिम्मेवार, मर्यादित र व्यवस्थित बनाउन क्रियाशील रहेकाले राज्यले पनि तिनको भूमिका र अधिकारको सम्मान गर्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले लोकतन्त्रमा स्वतन्त्र प्रेसले नागरिकलाई सत्यतथ्य सूचना उपलब्ध गराउने, सार्वजनिक निकायलाई जवाफदेही बनाउने तथा समाजमा भएका विकृति र विसंगतिबारे खबरदारी गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको बताएका थिए । यस्तो अवस्थामा सञ्चार क्षेत्रमाथि नियन्त्रणमुखी नीति अवलम्बन गरिए नागरिकको सूचनाको अधिकारसमेत प्रभावित हुने उनीहरूको भनाइ थियो ।
विरोध प्रदर्शनका क्रममा पत्रकारहरूले ‘प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर’, ‘पत्रकारमाथिको धरपकड रोक’, ‘पत्रकारको श्रम अधिकार सुनिश्चित गर’, ‘सञ्चारमाध्यममाथिको सरकारी हस्तक्षेप अन्त्य गर’ तथा ‘स्वतन्त्र प्रेस लोकतन्त्रको आधार हो, प्रेस स्वतन्त्रताको सम्मान गर’ जस्ता नारा लगाएका थिए । उनीहरूले पत्रकारलाई सामूहिक रूपमा पक्राउ गर्ने वा डर, धम्की र दबाबमा राख्ने गतिविधि बन्द गर्न पनि माग गरेका थिए ।

महासंघ रोल्पा शाखाले देशभर पत्रकारहरूका अधिकार र स्वतन्त्रतामाथि चुनौती थपिँदै गएको परिस्थितिमा जिल्लाबाट पनि ऐक्यबद्धता जनाउँदै शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको जनाएको छ । पत्रकारिता क्षेत्रलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै सहभागीहरूले सञ्चारकर्मीको सुरक्षा र प्रेसको स्वायत्तता सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । पत्रकारहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति अधिकार र पेशागत सुरक्षाको पक्षमा आवाज उठाउँदै सरकारी हस्तक्षेपविरुद्ध आफ्नो विरोध जारी रहने संकेत गरेका छन् ।