© 2026
नवलपरासी ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नवलपरासीमा २४ हजारभन्दा बढी निवेदन परेका छन् । तर, अहिलेसम्म एक जना निवेदकले पनि जग्गाधनी पुर्जा पाउन सकेका छैनन् । स्थानीय तहले आवश्यक प्रक्रिया अघि नबढाउँदा भूमि समस्या समाधानको काम अलपत्र परेको भन्दै संघीय सांसदहरूले असन्तुष्टि जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार राष्ट्रिय भूमि व्यवस्था समस्या समाधान समितिका राष्ट्रिय अध्यक्ष बलभद्र बस्तोलासहितको उपस्थितिमा भएको सर्वपक्षीय बैठकमा स्थानीय तहको निष्क्रियताका कारण समस्या समाधानमा ढिलाइ भएको विषय उठाइएको हो । बैठकमा जिल्लाका तीनै जना संघीय सांसद, सातवटै पालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, भूमि शाखाका प्रतिनिधि र सम्बन्धित सरोकारवालाको सहभागिता थियो ।
बैठकमा संघीय सांसद विक्रम खनालले २०७८ सालमै भूमि सम्बन्धी ऐन बने पनि स्थानीय तहले प्रभावकारी रूपमा काम अघि नबढाएको बताए । भूमि समस्या समाधानको जिम्मेवारी पाएका स्थानीय सरकारले नै आवश्यक प्रक्रिया पूरा नगर्दा वर्षौंदेखि जग्गाको स्वामित्वको प्रतीक्षामा रहेका नागरिकले पुर्जा पाउन नसकेको उनको भनाइ थियो । सांसद नरेन्द्रकुमार गुप्ता र रिङ्गला यादवले पनि भूमि समस्या शीघ्र समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी २४ हजार ३५ जनाको निवेदन परेको जानकारी दिए । तर, अहिलेसम्म एक जनाले पनि जग्गाधनी पुर्जा पाउन नसक्नु दुःखद भएको उनले बताए । बैठकमा भूमि समस्या समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिइएको उनले जानकारी दिए ।
जिल्लाका सातवटै स्थानीय तहमा परेका निवेदनमध्ये बर्दघाट नगरपालिकामा सबैभन्दा बढी ८ हजार ५३ वटा छन् । सुनवल नगरपालिकामा ६ हजार २६९, सरावल गाउँपालिकामा २ हजार ८५९, सुस्ता गाउँपालिकामा २ हजार ६६५, रामग्राम नगरपालिकामा १ हजार ८०६, प्रतापपुर गाउँपालिकामा १ हजार ६८४ र पाल्हीनन्दन गाउँपालिकामा ४५९ वटा निवेदन परेका छन् ।
तर, निवेदन संकलन भए पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको वर्गीकरण तथा छनोटको काम अघि बढ्न सकेको छैन । जिल्ला भूमि समस्या समाधान समितिका सदस्य सचिवसमेत रहेका नापी अधिकृत किसन सिंह विष्टका अनुसार वडा कार्यालयले प्रारम्भिक प्रक्रिया पूरा गरी निवेदन छनोट गरेर पालिकामा पठाउनुपर्ने व्यवस्था छ । पालिकाले आवश्यक विवरण र सिफारिससहित जिल्लामा पठाएपछि अन्तिम निर्णय गरी जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अघि बढ्छ ।
तर, अहिलेसम्म सुनवल नगरपालिकाको वडा नम्बर १३ बाट मात्रै विवरण प्राप्त भएको विष्टले बताए । प्राप्त विवरणमा पनि भूमिहीन दलित र भूमिहीन सुकुम्बासीभन्दा अव्यवस्थित बसोबासीको विवरण मात्रै रहेको उनको भनाइ छ ।
भूमि व्यवस्थापनसम्बन्धी नीतिमा भूमिहीन दलितलाई पहिलो र भूमिहीन सुकुम्बासीलाई दोस्रो प्राथमिकतामा राखिएको छ । उनीहरूलाई जग्गा उपलब्ध गराएपछि मात्रै लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि स्वामित्व प्राप्त गर्न नसकेका अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने व्यवस्था छ । तर, यही प्राथमिकताअनुसार काम हुन नसकेको भन्दै बैठकमा चिन्ता व्यक्त गरिएको थियो ।
भूमिहीन दलित र सुकुम्बासीलाई प्राथमिकता दिनुपर्नेमा स्थानीय तहले अव्यवस्थित बसोबासीको विवरणलाई बढी महत्व दिने गरेको आरोपसमेत बैठकमा लागेको थियो । भूमि व्यवस्थापन प्रक्रियामा भूमाफिया तथा राजनीतिक स्वार्थ समूहको प्रभावका कारण समस्या लम्बिएको सरोकारवालाहरूको भनाइ थियो ।
अधिवक्ता मनोजकुमार नागवंशीले भूमि समस्या समाधानमा ढिलाइ हुनुमा सरकारी पदाधिकारी तथा कर्मचारीको कार्यशैली र नियतसमेत जिम्मेवार रहेको टिप्पणी गरे । वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्नुको सट्टा भूमाफिया, जमिनदार, राजनीतिक नेतृत्व तथा बिचौलियाको स्वार्थका कारण समस्या बल्झिने गरेको उनले बताए ।
विभिन्न स्वार्थ समूहको प्रभावमा भूमि व्यवस्थापन प्रक्रिया अल्झिँदा वास्तविक भूमिहीन नागरिक थप समस्यामा पर्ने नागवंशीको भनाइ छ । उनीहरूलाई समयमै जग्गा उपलब्ध गराउन नसकिए वन, सार्वजनिक जग्गा तथा खोला र नदीकिनारमा बस्नुपर्ने अवस्था दोहोरिन सक्ने उनले बताए ।
जिल्लामा २४ हजारभन्दा बढी निवेदन परे पनि स्थानीय तहबाट विवरण वर्गीकरण र छनोटको प्रक्रिया अघि नबढ्नुले भूमि समस्या समाधानको काम सुस्त रहेको देखाएको छ । वडा र पालिकाबाट आवश्यक विवरण प्राप्त नभएसम्म जिल्ला तहबाट जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अघि बढाउन कठिन हुने सम्बन्धित अधिकारीहरूको भनाइ छ ।