© 2026
गुल्मी ।
गुल्मीलाई खोरेत रोग मुक्त जिल्ला बनाउने उद्देश्य सहित आजदेखि जिल्लामा अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा आयोजित कार्यक्रम मार्फत ‘खोरेत रोगमुक्त जिल्ला अभियान’ शुभारम्भ गरिएको हो ।
अभियान अन्तर्गत जिल्लाभरका करिब तीन लाख पशुचौपायालाई खोरेत रोग विरुद्धको खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेले जानकारी दिए । यसका लागि जिल्लामा ८२ जना भ्याक्सिनेटर परिचालन गरिने पाण्डेले बताएका छन् ।
अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले भ्याक्सिनेटरका लागि जिल्ला सदरमुकाम तम्घासमा अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको छ । कार्यक्रममा पशु रोग अन्वेषण प्रयोगशाला नवलपरासीका प्रमुख डा. भरत काफ्लेले खोरेत रोग विरुद्ध प्रयोग गरिने खोपको भण्डारण, चिस्यान व्यवस्थापन, खोप लगाउने उपयुक्त तापक्रम, प्रयोग विधि तथा खोपको प्रभावकारिताको बारेमा सहजीकरण गरेका छन् ।
अभिमुखीकरणका क्रममा भ्याक्सिनेटरहरूले खोप अभियान सञ्चालन गर्दा किसानहरूबाट विभिन्न चुनौती सामना गर्नु परेको अनुभव सुनाएका थिए । गाउँघरमा पुगेर खोप लगाउन आग्रह गर्दा कतिपय किसानले खोप लगाउन नमानेको उनीहरूले बताए । खोप लगाएपछि गाईभैँसीले दूध कम दिने, शरीरमा गिर्खा आउने तथा खोप लगाएकै कारण पशु मर्न सक्ने गलत बुझाइका कारण विगत वर्ष किसानलाई खोप लगाउनका लागि सहमत गराउन समस्या हुने गरेको भ्याक्सिनेटरहरूको भनाई थियो । कतिपय किसानले अहिलेसम्म खोप नलगाएको भन्दै खोप लगाउन अस्वीकार गर्ने गरेको समेत बताइएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दिनेश पन्थीले पशुपालन क्षेत्रको संरक्षण, किसानको आर्थिक समृद्धि र जिल्लाको पशु स्वास्थ्य सुरक्षाका लागि खोरेत रोग नियन्त्रण अभियान महत्वपूर्ण रहेको बताए । उनले अभियान सफल बनाउन प्रदेश सरकारको सहयोग र समन्वय रहने उल्लेख गर्दै यसमा स्थानीय तह, पशु सेवा क्षेत्रका प्राविधिक तथा किसान सबैले जिम्मेवारी पूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।