© 2026
सैनामैना । सैनामैना क्रिकेट क्लबको आयोजनामा रुपन्देहीको सैनामैनामा आईतबारदेखि अन्तरवडा क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्रप्रसाद शर्माले गर्नुभएको थियो ।
प्रतियोगिताको उदघाटन गर्दै नगरप्रमुख शर्माले नगरपालिकाले आफ्नो क्षमताअनुसार खेलकुद क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले क्रिकेट खेलको विकासका लागि खेलमैदानको पूर्वाधार निर्माणमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रको योगदानसमेत महत्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रममा क्लबका सल्लाहकार कृष्ण शर्माले क्रिकेटको माहोल देशभरी बढिरहेका बेला सैनामैनामा पनि यस्ता प्रतियोगिता आयोजना हुनु खुसीको कुरा भएको बताउनुभयो ।
क्लबका अध्यक्ष कृष्ण ज्ञवालीले सैनामैना क्षेत्रमा क्रिकेटको रौनक केही कम भइरहेको अवस्थामा विभिन्न क्षेत्रबाट सहयोग संकलन गरी प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनुभयो ।
प्रतियोगितामा सैनामैना नगरपालिकाका ११ वडाका १० टोली सहभागी छन् । उदघाटनपछिको पहिलो खेलमा वडा नम्बर ६ ले वडा नम्बर ९ लाई सहजै पराजित गर्दै विजयी सुरुवात गरेको छ । उक्त खेलमा वडा नम्बर ६ का प्रदीप सुवेदी म्यान अफ द म्याच घोषित हुनुभएको खेल संयोजक सुनिल पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष कृष्ण ज्ञवालीको अध्यक्षता तथा नगरप्रमुख फणेन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद अधिकारी, वडा नम्बर ७ का अध्यक्ष राजकुमार चौधरी र वडा नम्बर ९ का अध्यक्ष भानुभक्त पाण्डेलगायत विभिन्न संघसंस्था, क्लबका प्रतिनिधि तथा सहयोगदाताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सैनामैना खेलकुद विकास समितिका सचिव डिआर गैरेले स्वागत गर्नुभएको थियो भने क्लबका सदस्य मनिष जिसीले सञ्चालन गर्नुभएको थियो।
प्रतियोगिताका सबै खेल सैनामैनास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालन हुनेछन् । प्रतियोगिताको फाइनल खेल आगामी मंसिर १२ गते सोही मैदानमा हुने आयोजकले जनाएको छ ।