Butwal Today

मधुमेहले आँखाको ज्योति खोस्ने जोखिम, शिविरमा भेटिए २२ बिरामी

६ मंसिर २०८३, आइतबार
अ
अ+
अ-

गैंडहवार ।
सामान्यतया मधुमेहलाई रगतमा चिनीको मात्रा बढ्ने रोगका रूपमा बुझिन्छ । तर यसको असर शरीरका अन्य अङ्गसँगै आँखामा पनि पर्न सक्छ भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ । मधुमेहका कारण आँखाको पर्दामा असर पुगेर दृष्टि कमजोर हुनेदेखि दृष्टि नै गुम्ने जोखिमसमेत रहन्छ । यही जोखिमबारे सचेतना फैलाउँदै समयमै आँखाको अवस्था पहिचान गर्ने उद्देश्यले रूपन्देहीको गैडहवा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा उल्लेख्य संख्यामा आँखासम्बन्धी समस्या भएका बिरामी भेटिएका छन् ।
विश्व मधुमेह दिवस २०२६ को सन्दर्भ पारेर शुक्रबार गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरा बजारको आँखा उपचार केन्द्रमा आयोजना गरिएको डाइबेटिक आँखा जाँच तथा परामर्श शिविरमा ११२ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा २२ जनामा मधुमेहको समस्या देखिएको छ भने मधुमेहका कारण आँखामा असर परेका तीन जनालाई थप उपचारका लागि रिफर गरिएको आयोजकले जनाएको छ ।
शिविरमा परीक्षण गरिएकामध्ये २८ जनामा मोतिबिन्दुको समस्या पनि पहिचान भएको छ । मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । सामान्य स्वास्थ्य परीक्षणका रूपमा लिइने आँखा जाँचले कतिपय व्यक्तिमा लुकेर रहेका स्वास्थ्य समस्या पहिचान गर्न र समयमै उपचारको बाटो खोल्न सहयोग पुगेको छ ।
मधुमेह भएका व्यक्तिले नियमित रूपमा आँखाको परीक्षण गराउनुपर्ने चिकित्सकहरूको सुझाव छ । रगतमा चिनीको मात्रा लामो समयसम्म नियन्त्रणमा नरहँदा आँखाको पर्दामा असर पर्न सक्छ । सुरुका चरणमा आँखाको दृष्टिमा खासै समस्या नदेखिए पनि भित्रभित्रै क्षति बढिरहेको हुन सक्छ । त्यसैले दृष्टि धमिलो भएपछि मात्रै अस्पताल पुग्नेभन्दा पनि नियमित परीक्षण गराउनु महत्वपूर्ण हुन्छ ।
विशेषगरी ग्रामीण क्षेत्रमा मधुमेह र यसले आँखामा पार्न सक्ने असरबारे पर्याप्त जानकारी नहुँदा धेरै बिरामीले समयमै परीक्षण गराउने गरेका छैनन् । कतिपयले दृष्टिमा समस्या देखिएपछि मात्रै उपचार खोज्ने गरेका छन् । यस्तो अवस्थामा गाउँमै पुगेर सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरले रोगको पहिचानसँगै उपचारप्रतिको सचेतना बढाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
गैडहवा गाउँपालिकाको सहकार्यमा नेपाल नेत्र ज्योति संघ रूपन्देही शाखा र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, भैरहवाले संयुक्त रूपमा शिविर आयोजना गरेका हुन् । स्थानीयस्तरमै आँखा परीक्षण तथा परामर्श सेवा उपलब्ध गराउँदा उपचारका लागि टाढा जानुपर्ने बाध्यता भएका नागरिकलाई सहज भएको आयोजकको भनाइ छ ।
शिविरसँगै आयोजित औपचारिक कार्यक्रम लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरकी बाह्य कार्यक्रम निर्देशक सहप्राध्यापक डा. विनिता भट्टराईको अध्यक्षता तथा गैडहवा गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिता वि.क. थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघ तथा श्री रण अम्बिका शाह आँखा अस्पतालका अध्यक्ष सागरप्रताप राणा, अस्पतालका प्रमुख चिकित्सकीय निर्देशक प्रा. डा. सुशीला पटेल, नेपाल नेत्र ज्योति संघ रूपन्देहीका सचिव गणेशबहादुर क्षेत्री, अस्पतालका प्रबन्ध व्यवस्थापक प्रकाश रायमाझी, नेत्र विशेषज्ञ डा. सुजन ओझा, जनस्वास्थ्य निरीक्षक अनिलकुमार वि.क. र स्वास्थ्य चौकीका प्रमुख मीना पन्थीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालक अमर गौतमले जानकारी दिए ।
मधुमेह नियन्त्रणमा राख्नु र नियमित आँखा परीक्षण गराउनु दृष्टि जोगाउने महत्वपूर्ण उपाय हुन् । मधुमेह भएका व्यक्तिले आँखामा समस्या देखिएपछि मात्रै परीक्षण गराउने प्रवृत्ति छाडेर नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?