© 2026
काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँ दिल्ली जाने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल वायु सेवा निगमको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली प्रस्थान गर्नेछन् । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो । भ्रमणका क्रममा उनले दिल्ली पुगेपछि सबैभन्दा पहिले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले मङ्सिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–भारतबिचको व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयले प्राथमिकता पाउने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।
भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका विभिन्न समझदारीपत्र आदानप्रदान गरिने पनि उनले बताए ।
‘भ्रमणका क्रममा सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्र (एमओयू) समेत आदानप्रदान गरिनेछन्,’ सचिव राईले भने, ‘यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुनेछ ।’
नेपालका लागि भारत महत्त्वपूर्ण विकास साझेदार रहेकाले दुवै देशबीचको विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ । विशेषगरी आर्थिक सहकार्य, पूर्वाधार विकास र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारलाई भ्रमणले थप गति दिने अपेक्षा गरिएको छ ।
दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने परराष्ट्र सचिव राईले बताए ।
‘द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने दिशामा उच्चस्तरीय भ्रमणहरू अपरिहार्य हुन्छन्,’ उनले भने, ‘हाम्रा दुई देशबीच इतिहास, सभ्यता, संस्कृति तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहिआएको छ । आसन्न भ्रमणले नेपाल र भारतबीचको मैत्रीपूर्ण एवं सहयोगात्मक सम्बन्धलाई थप उचाइ प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।’
प्रधानमन्त्री शाह नेतृत्वको सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार लगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन् ।
त्यसैगरी, नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट राजदूतसहित केही अधिकारी भ्रमण टोलीमा सहभागी हुनेछन् । दुईदिने भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ता र समझदारीले नेपाल–भारतबीचको विद्यमान सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ ।