Butwal Today

गुटबन्दीले राप्रपा कमजोरः कमल थापा

६ मंसिर २०८३, आइतबार
अ
अ+
अ-

बुटवल ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले पार्टीभित्रको गुटबन्दी र आन्तरिक एकताको अभावले संगठन कमजोर बन्दै गएको बताएका छन् । पार्टीलाई बलियो र सशक्त बनाउन पुस्तान्तरण, नेतृत्वको रूपान्तरण र वैचारिक पुनर्जागरण आवश्यक रहेको उनले बताए ।
शुक्रबार राप्रपाले भैरहवामा आयोजना गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । आन्तरिक एकता कायम गर्न नसक्दा पार्टीले अपेक्षित राजनीतिक उपलब्धि हासिल गर्न नसकेको उनको भनाइ थियो ।
बदलिँदो राजनीतिक परिवेश र जनताको अपेक्षाअनुसार पार्टीले आफूलाई समयानुकूल परिवर्तन गर्नुपर्ने बताउँदै थापाले संगठनात्मक संरचना, नेतृत्व शैली र वैचारिक दृष्टिकोणमा समेत नयाँपन आवश्यक रहेको उल्लेख गरे । पुस्तान्तरण र रूपान्तरणमार्फत पार्टीमा नयाँ ऊर्जा भर्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले पनि पार्टीभित्र एकता र एकरूपता कायम गर्नुपर्ने बताए । आन्तरिक मतभेद र आपसी समझदारीको अभावले संगठन कमजोर बनेको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
पाण्डेले आगामी महाधिवेशनलाई पार्टीका विगतका कमजोरी सच्याउने र नयाँ राजनीतिक दिशाका साथ अघि बढ्ने अवसरका रूपमा लिनुपर्ने बताए । महाधिवेशनबाट नेतृत्व, संगठनात्मक संरचना र कार्यशैलीमा सुधार गर्दै पार्टीलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितलाई प्राथमिकता दिन सके मात्रै पार्टी बलियो बन्ने उनले बताए ।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले पनि पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण र नेतृत्वको भूमिकाबारे धारणा राखेका थिए । उनीहरूले पार्टीलाई जनतामाझ स्थापित गर्न आन्तरिक एकतासँगै स्पष्ट राजनीतिक दृष्टिकोण र प्रभावकारी कार्यशैली आवश्यक रहेको बताएका थिए ।
यसैबिच, कार्यक्रममा बोल्दै राप्रपाका नेता अजयकुमार गुप्ता र बलराम शर्मालगायतले सरकारको आलोचना गरेका थिए । उनीहरूले सरकारले जनताको समस्या समाधान र विकास निर्माणका काममा ध्यान दिनुको सट्टा आफ्ना कार्यकर्ताको पालनपोषणमा बढी ध्यान दिएको आरोप लगाए ।
आगामी महाधिवेशन नजिकिँदै गर्दा राप्रपाभित्र नेतृत्व परिवर्तन, पुस्तान्तरण र संगठनात्मक सुधारको बहस चर्किंदै गएको छ । पार्टीका नेताहरूले नै गुटबन्दी, आन्तरिक असमझदारी र कमजोर संगठनलाई प्रमुख चुनौतीका रूपमा औँल्याउन थालेपछि महाधिवेशनले पार्टीलाई नयाँ दिशा दिन सक्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?