Butwal Today

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र वन्दैछ– धारापानी मन्दिर

वनभोज खान आउनेहरुको चहपहल बढ्दै
५ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

दाङ ।

दाङ जिल्लाबासीमध्ये धारापानी मन्दिरको नाम नसुनेको सायदै कोही होलान । यही धारापानी मन्दिर पछिल्लोसमय वनभोज खान आउनेहरुको लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

दाङ घोराही उपमहानगरपालिका–५ मा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल धारापानी मन्दिर पछिल्लोसमय वनभोज स्थलको रुपमा परिचित हुन थालेको छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र धार्मिक आस्थाका कारण धारापानी मन्दिर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।

विशेषगरी बिदाका दिन तथा चाडपर्वको समयमा धारापानी मन्दिर परिसरमा पिकनिक खान आउने परिवार, विद्यार्थी, युवायुवती तथा विभिन्न समूहको बाक्लो उपस्थिति देखिने गरेको छ । वन जंगलले घेरिएको हरियाली वातावरण, खुला क्षेत्र र मनोरम दृश्यले यहाँ आउने पर्यटकलाई रमाइलो अनुभूति दिने गरेको छ ।

घोराही –५ धर्नाकी सरिता चौधरी टोलबाट भैलो खेलेको पैसाले रमाइलो गर्न धारापानी मन्दिरमा आएको बताइन् । “४५ जनाको समूहमा भैलो खेलेर उठेको ६० हजार मध्ये ४० हजार सामाजिक सेवामा खर्च गरेका थियौं, बाँकी बचेको रकमबाट वनभोज खान आएका छौ, उनले भनिन् । भैलोबाट उठेको रकम विद्यालयलाई सहयोग गरेका छौं ।

मन्दिर दर्शनसँगै वनभोजको आनन्द लिन पाइने भएकाले धारापानी मन्दिरमा आगन्तुकहरुको आकर्षण बढेको उनी बताउँछिन् । साथीभाई तथा परिवारसँग समय बिताउन आउनेहरूका लागि यो स्थान उपयुक्त गन्तव्य बनेको छ । कतिपय विद्यालय तथा विभिन्न संघ संस्थाले पनि सामूहिक वनभोज र मनोरञ्जनका लागि धारापानीलाई रोज्ने गरेका छन् ।

धारापानी मन्दिर धार्मिक आस्थाका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । धार्मिक पर्यटन र मनोरञ्जनलाई एकैसाथ अनुभव गर्न सकिने भएकाले धारापानीमा पर्यटकको चहलपहल बढ्दै गएको हो ।

बाँकेको खजुराबाट धारापानी मन्दिरमा घुम्न आएकी सबिता शाहलाई मन्दिर साह्रै रमाइलो लागेको बताइन् । टोलबाट भैलो खेलेको पैसाले दाङ घुम्न आएको उनको भनाई छ । उनी भन्छिन– २५ जनाको समूह बनाएर घुम्न आएका छौं । दाङको धारापानीका बारेमा सुनेको मात्रै थिएँ, देख्ने अवसर मिलेको थिएन अहिले हेर्दा धेरै रमाइलो लाग्यो ।

वनभोज खान आउनेहरुको संख्या बढेसँगै स्थानीय रुपमा आर्थिक गतिविधि पनि बढ्ने गरेको छ । पर्यटकको आवागमनले वरिपरीका पसल तथा व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने गरेको स्थानीयको भनाइ छ । यसले स्थानीयलाई रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्न सहयोग पु¥याएको छ ।

तर, पर्यटकको बढ्दो चहलपहलसँगै मन्दिर परिसरको सरसफाइ र वातावरण संरक्षणमा चुनौतीसमेत थपिएको छ । यो मन्दिरमा बाह्रै महिना भक्तजनको चहलपहल हुने उनको भनाइ छ।

कात्तिक र मंसिर महिना सुरु भएपछि भैलो खेलेका समूह वनभोज खान आउँदा चहलपहल धेरै भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए । दैनिक १२÷ १५ वटा समूह वनभोजका लागि आउने गरेको उनको भनाइ छ । वनभोजपछि फालिने प्लास्टिक, खानेकुराका अवशेष तथा अन्य फोहोरले धार्मिक र पर्यटकीय स्थलको सौन्दर्यमा असर पार्न सक्ने भएकाले सरसफाईमा ध्यान दिने गरेको उनले बताए ।

धारापानीलाई स्वच्छ, सफा र व्यवस्थित पर्यटकीय स्थलका रूपमा विकास गर्न स्थानीयवासी, पर्यटक तथा सम्बन्धित निकायको सहकार्य गरेर काम गर्ने गरेको उनको भनाइ छ ।

प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेको धारापानी मन्दिरलाई संरक्षण गर्दै व्यवस्थित पर्यटन प्रवद्र्धन गर्न सके घोराहीको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा यसको पहिचान अझ फराकिलो बन्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?