© 2026
चन्द्रौटा ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिंगे–चन्द्रौटा सडक खण्डले अब नयाँ स्वरूप पाउने भएको छ । लामो समयदेखि प्रतिक्षामा रहेको सडक विस्तार योजनाले ठेक्का सम्झौता सम्पन्न भएसँगै निर्माणको बाटो समातेको छ ।
इन्जिनियर सुनिल लम्सालका अनुसार करिब ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा निर्माण हुने आयोजनालाई २ वर्ष ५ महिनाभित्र सम्पन्न गर्ने हुनेछ । कुल १९.२ किलोमिटर लामो सडक सर्भिस लेनसहित ६ लेनमा विस्तार गरिनेछ । सडक विस्तारले यस क्षेत्रको यातायात व्यवस्थापन, आवागमन र सडक सुरक्षामा सुधार ल्याउने स्थानीयको भनाइ छ ।
आयोजना सडक फराकिलो बनाउने योजनामा सीमित छैन । यसमा आधुनिक यातायात पूर्वाधार र सुरक्षित आवागमनलाई समेत प्राथमिकता दिइएको छ । इन्जिनियर लम्सालका अनुसार सडक निर्माणसँगै २ वटा ठूला र ६ वटा साना पुल निर्माण गरिनेछन् ।
त्यस्तै ७२ वटा कल्भर्ट पनि बनाइनेछन् । सडकमा पैदलयात्रीको सहज आवागमनका लागि २ वटा अन्डरपास र एउटा आकाशे पुल निर्माण गर्ने योजना छ । सवारीसाधनको सुरक्षित आवागमनका लागि छुट्टै एउटा अन्डरपाससमेत बनाइनेछ । यसले सडक पार गर्दा पैदलयात्रीले भोग्नुपर्ने जोखिम कम हुने जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकाल बताउँछन् ।