© 2026
बुटवल ।
महिलाहरूले घरबाहिर निस्केर काम गर्न तथा सार्वजनिक जीवनमा सक्रिय हुन अझै पनि विभिन्न चुनौती र विभेदको सामना गर्नुपरेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।
नेपाल पिक्चर लाइब्रेरी काठमाडौंले बुटवलमा आयोजना गरेको फोटो प्रदर्शनी कार्यक्रममा सहभागी महिलाहरूले सार्वजनिक जीवनमा स्थापित हुन र आफ्नो पहिचान बनाउन ठूलो संघर्ष गर्नुपरेको अनुभव सुनाएका हुन्।
‘सार्वजनिक जीवनमा महिला स् महिलावादी स्मृतिको एक पहल’ कार्यक्रमअन्तर्गत लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा तीन दिनसम्म फोटो प्रदर्शनी आयोजना गरिएको छ। यही ३, ४ र ५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा महिलाहरूले विभिन्न क्षेत्रमा गरेको योगदान र उनीहरूको संघर्षलाई तस्बिरमार्फत प्रस्तुत गरिएको छ।
कार्यक्रममा महिला फोटोग्राफर कमला तिवारी, सामाजिक अभियन्ता धनेश्वरी चौधरी, रङ्गकर्मी कृष्ण थापा तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मी रेशम न्यौपानेले आफ्ना अनुभव सुनाएका थिए। उनीहरूले समाजमा आफ्नो पहिचान स्थापित गर्न र सार्वजनिक जीवनमा अघि बढ्न विभिन्न सामाजिक अवरोध तथा चुनौती सामना गर्नुपरेको बताए। महिलाका लागि अहिले पनि सार्वजनिक जीवन सहज बन्न नसकेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले महिलाको सीप, रोजगारी र आर्थिक उन्नतिका लागि नगरपालिकाले देशभरिमै सबैभन्दा बढी महिला लक्षित कार्यक्रम सञ्चालन गरेको दाबी गरे।
भौतिक विकाससँगै सामाजिक र मानसिक विकास पनि आवश्यक रहेको उल्लेख गर्दै उनले महिलालाई सक्षम, आत्मनिर्भर र सहज रूपमा सार्वजनिक जीवनमा सक्रिय बनाउन नगरपालिकाले निरन्तर काम गरिरहेको बताए।
३ दिनसम्म चल्ने प्रदर्शनीमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा महिलाहरूले पुर्याएको योगदान, उनीहरूको संघर्ष र ऐतिहासिक भूमिकालाई तस्बिरमार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको छ।
महिलाको योगदानलाई इतिहासमा अभिलेखीकरण गर्दै सार्वजनिक जीवनमा उनीहरूको उपस्थिति, पहिचान र संघर्षबारे नयाँ पुस्तालाई जानकारी गराउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ।