© 2026
गुल्मी ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले युवालाई सूचना प्रविधिमा दक्ष र आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने आधारभूत कम्प्युटर सम्बन्धी सीप विकास तालिम सुरु गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०८३÷८४ को लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तर्फको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा उक्त तालिम सञ्चालन गरिएको हो । तालिम शुभारम्भ कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै युवालाई आधुनिक प्रविधि सम्बन्धी ज्ञान र सीप प्रदान गर्नु आवश्यक रहेको बताए । उनले प्रविधिमा दक्ष जनशक्ति उत्पादन गरी युवालाई स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न नगरपालिकाले कम्प्युटर तालिमलाई प्राथमिकता दिएको बताए । प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पन्तले सूचना प्रविधि र कम्प्युटर ज्ञान अहिलेको अनिवार्य आवश्यकता बनिसकेको उल्लेख गर्दै तालिमबाट प्राप्त सीपलाई व्यावहारिक जीवन र व्यावसायिक क्षेत्रमा उपयोग गर्न सहभागीलाई आग्रह गरेका छन् ।
तीन महिनासम्म सञ्चालन हुने तालिममा सहभागीलाई कार्यालयको कामकाजमा आवश्यक पर्ने कम्प्युटरका आधारभूत सीपसँगै आधुनिक प्रविधिको प्रयोगबारे प्रशिक्षण दिइनेछ । तालिममा वर्ड, एक्सेल र पावरपोइन्ट जस्ता सफ्टवेयर सञ्चालन, इन्टरनेटको सुरक्षित तथा प्रभावकारी प्रयोग, इमेल आदान प्रदान र कृत्रिम बौद्धिकताको प्रयोगबारे प्रयोगात्मक विधिबाट प्रशिक्षण गराइने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कल्पना पाण्डेले जानकारी दिएकी छन् ।
रेसुङ्गा नगरपालिकाका १४ वटै वडाबाट समावेशी रूपमा छनोट भएका महिला तथा पुरुष युवाको सहभागिता रहेको तालिमको प्राविधिक सहजीकरण लुम्बिनी इन्स्टिच्युटले गरेको छ । नगरपािलकाका अनुसार बेरोजगार तथा सूचना प्रविधिको पहुँच र सीपबाट पछाडि परेका युवालाई डिजिटल प्रविधिको मूलधारमा ल्याउनु तालिमको मुख्य उद्देश्य रहेको बताईएको छ ।तालिमले युवाको डिजिटल साक्षरता अभिवृद्धि गर्नुका साथै रोजगारी र स्वरोजगारका अवसर खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको नगर उपप्रमुख अमृतादेवी कुँवरले बताएकी छन् । तीन महिने निशुल्क उक्त तालिममा १४ वटै वडाबाट छनोट भएका प्रशिक्षार्थीको सहभागिता रहेको छ ।