Butwal Today

गाउँघरबाटै लोप हुँदै काठे लोकल गाई

२ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

पाल्पा ।

गाउँघरमा पालिने स्थानीय जातको गाईलाई ‘काठे’ भनिन्छ । यो गाईको गोबर र मलमुत्रदेखि दुधजन्य पदार्थ जन्मदेखि मृत्यु संस्कारसम्म आवश्यक पर्छ । तर, पछिल्लोसमय यो काठे गाई हराउँदै र लोप हुँदै गएको छ । तानसेन नगरपालिकाका विभिन्न स्थानका किसानले पाल्दै आएका काठे गाई लोप हुनुका पछि चरिचरन प्रमुख समस्या रहेको किसानहरु बताउँछन् । अर्कोतर्फ काठेले भन्दा उन्नत जर्सी गाईले दुध धेरै दिने हुँदा किसानले काठे भन्दा जर्सी गाई पाल्न रुचाउने गरेका कारण पनि काठे गाई लोप हुँदै गएका छन् ।

तानसेन नगरपालिका ९ दमकडाका स्थानिय रामबहादुर कुमाल ७४ वर्ष पुगिसके । उनी सम्झिन्छन– बाल्यकालदेखि तन्नेरी अवस्थासम्म पुग्दा स्थानिय जातका लोकल ३० वटा गाई उनको गोठमा थिए । अहिले सिंगो गाउँमै एउटा पनि स्थानिय जातको गाई छैन । उनी भन्छन– के गर्नु, स्वास्थ्यले साथ दिएन, नत्र अहिलेपनि आफ्नो गोठभरी लोकल काठे गाई हुन्थे ।

माण्डब्य बहुमुखी क्याम्पसका प्रमुख रुद्रराज बस्यालका पनि गोठभरी गाई थिए । उहाँको बाल्यकालका स्मरणमा अझै ताजै छ ति दिन– जब बिदाको दिन गाई चराउन जानु पथ्र्यो । पहिले सबैका गोठभरी गाईबस्तु हुन्थे । अहिले स्थानिय जातको गाइको वंश नै सकिएजस्तो भएको बस्यालको गुनासो छ । विवाहदेखि मृत्यु संस्कारसम्म गाई दान गर्ने प्रचलन थियो । जीवनको अन्तिम क्षणमा शारीरिक रुपमा बाधा अड्चन भए गाईको पुच्छर समाएर पुजा गर्दा बैतरणी पार हुने धार्मिक जनविश्वास भएका कारण गाईको संरक्षण गर्ने प्रचलन रहेको पुराना पुस्ताको अनुभव छ ।

धार्मिक मान्यता अनुसार गाईको दुधको जति महत्व छ, त्यति नै गाईको पिसावको पनि उत्तिकै महत्व रहेको छ । हाम्रा परम्परा र सस्कृति अनुरुप गरिने पुजामा गाईको पिसाव र दुध मिसाएर बनाइएको पञ्चकव्य बिना पुजाको थालनी हुदैन । जुठो परेको होस, सुत्तक होस वा अरु कुनै पुजाआज वा छोईछिटो, गाईको पिसाव अपरिहार्य छ । यो परम्परा अहिलेपनि उत्तिकै छ । स्थानीय पण्डित खेमराज ढुंगानाका अनुसार अचेल काठे गाई लोप हुँदै गएकोले स्थानिय गाईको विकल्पमा बर्णशंकर जातका गाइको गहुँतको प्रयोग बढेको छ ।

माथागढी गाउँपालिका कसेनी सिकारकोटकी ७० वर्षिया भुमकुमारी दर्लामीले गोठमा बाँधिएको स्थानिय जातको गाईको घिउ बिक्रीबाट चारजना छोराछोरीको पठनपाठन देखि घर खर्च पूरा गर्थिन, अहिले भने बुढेसकालमा दुधका लागि मात्रै एउटा गाई पालिरहेको उनी बताउँछिन् ।
वगनासकाली गाउँपालिका पोखराथोकका स्थानिय खगदेव न्यौपाने भन्छन– पहिले पहिले गाउँका वन पाखामा चरनको व्यवस्था थियो । जब सामुदायीक वनको लहर चल्यो, तब चरीचरन रोकियो, त्यसको गाई पालनमा प¥यो ।

पहिले माडी फाँटमा धान मात्रै खेती गर्ने चलन थियो तर पछिल्लो समयमा धानपछि अरु बाली लगाउने क्रम बढेसंगै चरन योग्य क्षेत्र छोटिदै र खोटिदै गएपछि गाई पालन हराउन पुगेको न्यौपानेको भनाई छ ।

स्थानीय तानसेनका पशुपालक किसान जन्मदेखि मृत्युसंस्कारसम्म गाईको मलमुत्रदेखि दुध आवश्यक परेपनि चरनको समस्या बढ्दै गएकोले गाई पाल्ने चलन हराउँदै गएको गुनासो गर्छन । त्यसमाथि धेरै दुध दिने गाई भन्दै उन्नत जातको गाई पाल्ने क्रम बढ्यो ।

सरकारले पनि उन्नत जातलाई बढि प्राथमिकता दिन लाग्यो । गाउँघरमा गाईको संख्या कम हुँदा गोरुको पनि समस्या भएको स्थानिय बताउँछन् । पशु प्राविधिक हुमनाथ अर्याल पछिल्लो दशकमा स्थानिय जातको गाई हराएको बताउँदै उन्नत जातको गाईपालन हुन थालेकोले काठे गाई लोप भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?