Butwal Today

बाँकेमा भूमिहीनलाई लालपुर्जा वितरण सुरु

२ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

नेपालगञ्ज ।

बाँकेमा वर्षौंदेखि जग्गाको स्वामित्वविहीन अवस्थामा बसोबास गर्दै आएका भूमिहीन दलित तथा भूमिहीन सुकुमबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न थालिएको छ। भूमि समस्या समाधान गर्ने सरकारी अभियानअन्तर्गत जिल्लामा पहिलो चरणको पुर्जा वितरण राप्ती सोनारी गाउँपालिका–४ बाट सुरु गरिएको हो ।

राप्ती सोनारी गाउँपालिकाको समन्वय तथा सहकार्यमा भूमि समस्या समाधान समिति बाँकेले बुधबार वडा नम्बर ४ का १० जना भूमिहीन दलित तथा भूमिहीन सुकुमबासीलाई जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गरेको हो । लामो समयदेखि जग्गाको स्वामित्व प्राप्त गर्ने प्रतीक्षामा रहेका स्थानीयका लागि पुर्जा वितरणको सुरुवातलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

पुर्जा वितरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुरेश चौधरी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, बाँकेका प्रमुख जिल्ला अधिकारी एवं भूमि समस्या समाधान समिति बाँकेका अध्यक्ष दिलकुमार तामाङ, गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु तथा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का अध्यक्ष मिनराज खड्कालगायतले लाभग्राहीलाई जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सांसद सुरेश चौधरीले भूमिसम्बन्धी समस्या समाधानलाई वर्तमान सरकारले प्राथमिकतामा राखेर काम अघि बढाएको बताए। उनले भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व दिलाउने उद्देश्यले अध्यादेशमार्फत कानुन संशोधन गरी समस्या समाधानको प्रक्रिया अगाडि बढाइएको उल्लेख गरे ।

त्यस्तै, गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि गाउँपालिकाले सुरुदेखि नै सहजीकरण गर्दै आएको बताए । आयोगको कामलाई प्रभावकारी बनाउन गाउँपालिकाले आफ्नै कर्मचारीसमेत नियुक्त गरेर आवश्यक सहयोग गरिरहेको उनको भनाइ थियो ।

राप्ती सोनारी–४ बाट सुरु भएको पुर्जा वितरण प्रक्रियाले जग्गाको स्वामित्वबाट वञ्चित अन्य भूमिहीन परिवारमा समेत आशा जगाएको छ । आगामी दिनमा पहिचान भएका अन्य योग्य लाभग्राहीलाई पनि प्रक्रिया पूरा गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?