© 2026
अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्कमा हरिबोधनी एकादशीका अवसरमा लाग्ने परम्परागत मेला तथा भैलोलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सन्धिखर्क नगरपालिकाले विशेष व्यवस्थापनका निर्णय गरेको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ र २ अन्तर्गत सन्धिखर्क बजार तथा चुत्राबेँसी बजारमा मेला व्यवस्थापनका लागि मङ्सिर ४ गते बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म मालवाहक ट्रक, बस, चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइने भएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको निर्णयअनुसार सन्धिखर्क बजार प्रवेश गर्ने तथा बाहिरिने सवारीसाधनका लागि विभिन्न वैकल्पिक मार्ग र पार्किङ स्थल निर्धारण गरिएको छ । नगरपालिकाले मेलामा व्यापार व्यवसाय गर्ने व्यवसायीसँग कुनै पनि बहानामा शुल्क वा पैसा लिन नपाइने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए । जुवाजन्य खेल तथा चिठ्ठा सञ्चालनमा समेत रोक लगाइएको छ ।
त्यस्तै बजार क्षेत्रका फुटपाथ खाली गराई नागरिकलाई आवतजावतमा सहज बनाउने, फुटपाथमा व्यापार व्यवसाय गर्न नदिने तथा स्थानीय कृषि उत्पादन तरकारी, भ्याकुर, सुन्तला र सखरखण्डलगायतका उत्पादनलाई मात्र तोकिएको स्थानमा बिक्री वितरण गर्न दिने व्यवस्था गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
हरिबोधनी एकादशीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई संरक्षण गर्दै मेलामा सहभागी हुने श्रद्धालु, भक्तजन, व्यापारी तथा सर्वसाधारणलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था गरेको नगर उपप्रमुख मिश्रा आचार्यले बताइन् । नगरपालिकाले मेला अवधिभर तोकिएका नियम पालना गरी सवारी व्यवस्थापन तथा मेला सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।