Butwal Today

बालेन सरकार बनेपछि समाज उल्टो बाटोतिर गयो : अध्यक्ष ओली

२ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति कटाक्ष गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि समाज उल्टो बाटोतिर अघि बढेको र सरकार जनताप्रति उत्तरदायी हुन नसकेको उनको आरोप छ ।

काठमाडौँमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज उल्टो दिशातर्फ धकेलिँदै गएको बताएका हुन् । उनले संस्कृति र सभ्यतामाथि चर्को हमला भइरहेको दाबीसमेत गरे ।

‘जनताप्रति अनुत्तरदायी सरकार छ । खर्बौं रुपैयाँ जम्मा भएको छ, तर त्यो पैसा थन्किएर बसेको छ । पीडितहरू दुःखमा पिल्सिरहेका छन्’, ओलीले भने, ‘सरकारले काम गरेको भए समस्या समाधान हुन सक्थ्यो, तर केही पनि भएको छैन । शिक्षा बिग्रँदो छ, स्वास्थ्यस्थितिमा सुधार भएको छैन । अस्पतालबाट बाहिर निकालेर सडकमा प्रसव वेदनाका बीच शिशु जन्माउनुपर्ने अवस्था छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले संसद् विघटनसम्बन्धी मुद्दामा अदालतसमेत मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरे । राज्यका विभिन्न अंग तथा निकायले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको उनको भनाइ थियो ।

‘राज्यका अंगहरू र निकायहरू आफ्नो काम गर्न तथा कर्तव्य पालना गर्न सक्ने अवस्थामा छैनन् । यसको कारण मैले भनिरहनुपर्दैन, सबैलाई थाहा छ’, उनले भने, ‘यस्तो अवस्थामा देशको अस्मिता, स्वाधीनता, स्वाभिमान र सम्मानको रक्षा गर्न आवश्यक छ । त्यसका लागि जनता अघि बढ्नुपर्ने अवस्था आइसकेको छ ।’

ओलीले जनतालाई झुक्याएर तथा जेनजी विद्रोहलाई बहाना बनाएर तालिमप्राप्त अपराधी परिचालन गरी वितण्डा मच्चाइएको आरोपसमेत लगाए ।

प्रधानमन्त्री संसद्मा उपस्थित नहुने गरेको भन्दै ओलीले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए । नेपालजस्तो सानो देशले ठूलो देशको सीमा मिचेको भन्ने अभिव्यक्तिसमेत संसद्को अभिलेखबाट नहटाइएको भन्दै उनले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाए ।

‘प्रधानमन्त्री संसद्मा नआउने, आउनुपर्ने अवस्था र कार्यक्रम नभएको बेला हात उठाएर बोल्ने । नेपालजस्तो सानो देशले ठूलो देशको सीमा मिचेको छ भनेर दिएको अभिव्यक्तिसमेत संसद्को रेकर्डबाट हटाइएन’, ओलीले भने । उनले उक्त अभिव्यक्ति संसद्को अभिलेखमा किन राखिएको भन्दै सभामुखसँग प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?