© 2026
रोल्पा ।
विपद् तथा संकटका समयमा रोल्पाको सुनिलस्मृति गाउँपालिका–३, रुइनिबाङस्थित चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगलागीबाट व्यवसाय पूर्ण रूपमा गुमाएका आफ्ना सञ्चालक समिति सदस्य विकास गुप्तालाई ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गुप्ताद्वारा सञ्चालित ‘लक्ष्मी मोबाइल सर्भिस सेन्टर’ मा भएको भीषण आगलागीबाट पसल पूर्ण रूपमा नष्ट भएपछि सहकारी संस्थाले राहतस्वरूप उक्त रकम उपलब्ध गराएको हो ।
२०८३ साल कार्तिक २२ गते राति करिब १२ बजेको समयमा भएको आगलागीले व्यवसायमा ठूलो क्षति पुर्याएको थियो । लामो समयको मेहनत, लगानी र परिश्रमबाट सञ्चालन हुँदै आएको पसल एकाएक आगलागीको चपेटामा परेपछि गुप्ता आर्थिक रूपमा मारमा पुगेका छन् ।
आगलागीबाट व्यवसायमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहकारी संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको जनाएको छ । त्यसैगरी संस्थाका सञ्चालक समिति तथा व्यवस्थापन समितिमा आबद्ध व्यक्तिहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी थप १५ हजार रुपैयाँ जुटाएका थिए । यसरी संस्थागत र व्यक्तिगत योगदानबाट जम्मा भएको ३० हजार रुपैयाँ बुधबार आयोजित एक कार्यक्रमका बीच अग्निपीडित गुप्तालाई हस्तान्तरण गरिएको हो ।
सहकारी संस्थाका अनुसार विपत्तिमा परेका आफ्नै संस्थाका सदस्यलाई कठिन परिस्थितिमा साथ दिने उद्देश्यले सहयोग रकम संकलन गरिएको हो । संस्थाले उपलब्ध गराएको रकमले आगलागीबाट भएको सम्पूर्ण क्षतिको पूर्ति गर्न नसके पनि पुनः व्यवसाय सञ्चालनको तयारीमा केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।
आर्थिक सहयोग हस्तान्तरणका क्रममा सहकारी परिवारले अग्निपीडित गुप्ताप्रति गहिरो सहानुभूति प्रकट गर्दै धैर्य र आत्मविश्वासका साथ परिस्थितिको सामना गर्न सक्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ । साथै, आगलागीबाट सिर्जित कठिन अवस्थाबाट छिट्टै बाहिर निस्किएर पुनः व्यवसाय सञ्चालन गर्न सफल होऊन् भन्ने शुभेच्छा व्यक्त गरेको छ ।