© 2026
कुनै राजनीतिक सभा होस् वा सडक आन्दोलन, विद्यार्थीको जुलुस होस् वा चुनावी कार्यक्रम, हाम्रो कानमा बारम्बार ठोक्किने दुई शब्द हुन्, जिन्दावाद र मुर्दावाद । कहिले कुनै व्यक्ति जिन्दावाद हुन्छ, कहिले कुनै विचार मुर्दावाद हुन्छ । कहिले व्यवस्था जिन्दावाद हुन्छ, कहिले त्यही व्यवस्थाको विरोधमा मुर्दावादको आवाज उठ्छ ।
तर, हामीले कहिल्यै सोच्यौँ कि हामीले दैनिक प्रयोग गर्ने यी दुई शब्दको वास्तविक अर्थ के हो ? हामी केलाई जीवित राख्न चाहन्छौँ र केलाई समाप्त गर्न चाहन्छौँ ? आखिर यी शब्दको इतिहास के हो र हाम्रो राजनीतिक तथा सामाजिक जीवनमा यिनले कस्तो प्रभाव पारिरहेका छन ? सामान्य अर्थमा बुझ्दा जिन्दावाद र मुर्दावाद फारसी भाषाबाट आएका शब्द हुन् । ’जिन्दा’ को अर्थ जीवित वा जिउँदो र ’बाद’ को अर्थ रहोस् वा होस् भन्ने हुन्छ । त्यसैले जिन्दावादको शाब्दिक अर्थ जीवित रहोस् वा दीर्घायु होस् भन्ने हो ।
त्यस्तै, ’मुर्दा’ को अर्थ मृत वा निर्जीव र ‘बाद’ को अर्थ होस् भन्ने हुन्छ । यसरी मुर्दावादको शाब्दिक अर्थ मृत होस् वा अन्त्य होस् भन्ने बुझिन्छ । यी शब्दको प्रयोग उर्दू, हिन्दी हुँदै दक्षिण एसियाका विभिन्न भाषामा फैलिएको पाइन्छ । तर समयक्रमसँगै यिनको अर्थ केवल भाषिक सीमामा रहेन । यी राजनीतिक समर्थन र विरोधका प्रभावशाली अभिव्यक्ति बने । यी शब्दको ऐतिहासिक यात्रालाई बुझ्न भारतीय स्वतन्त्रता आन्दोलनलाई सम्झनुपर्ने हुन्छ । विशेषगरी ’इन्कलाब जिन्दावाद’ नारा दक्षिण एसियाली राजनीतिक इतिहासको महत्त्वपूर्ण अभिव्यक्ति हो ।
सन् १९२१ मा मौलाना हसरत मोहानीसँग यस नाराको प्रयोग र निर्माणको श्रेय जोडिन्छ । पछि भगत सिंह र उनका क्रान्तिकारी साथीहरूले यसलाई व्यापक रूपमा लोकप्रिय बनाए । सन् १९२९ अप्रिल ८ मा भगत सिंह र बटुकेश्वर दत्तले दिल्लीस्थित केन्द्रीय विधानसभामा बम विस्फोट गराएपछि यो नारा लगाएका थिए । त्यसपछि यो नारा ब्रिटिस शासनविरुद्धको स्वतन्त्रता आन्दोलनमा अझ चर्चित बन्यो । यहाँ एउटा महत्त्वपूर्ण कुरा के छ भने उनीहरूका लागि इन्कलाबको अर्थ केवल शासक परिवर्तन गर्नु थिएन ।
उनीहरूले सामाजिक तथा आर्थिक असमानता र शोषणविरुद्ध पनि परिवर्तनको अपेक्षा गरेका थिए । यस ऐतिहासिक घटनाले एउटा कुरा स्पष्ट पार्छ, नारा केवल शब्दको उच्चारण होइन, त्यसले बोकेको विचार र उद्देश्य पनि हो । इन्कलाब जिन्दावाद भन्नुको अर्थ परिवर्तनको विचार जीवित रहोस् भन्ने थियो । तर, आज हामीले प्रयोग गर्ने जिन्दावादको अर्थ त्यही ऐतिहासिक चेतनासँग मेल खान्छ त ?
कुनै व्यक्तिको नामसँग जिन्दावाद जोड्दैमा उसले प्रतिनिधित्व गर्ने विचार पनि जीवित रहन्छ ? कुनै राजनीतिक दल वा नेताको समर्थनमा नारा लगाउँदैमा उसका सबै निर्णय र कार्य सही हुन्छन ? यी प्रश्नहरू आजको राजनीतिक संस्कृतिमा उत्तिकै सान्दर्भिक छन् । नेपाली राजनीतिक परिवेशमा पनि जिन्दावाद र मुर्दावादको प्रयोग लामो समयदेखि हुँदै आएको छ । राजनीतिक परिवर्तनका विभिन्न आन्दोलन, विद्यार्थी संगठनका गतिविधि, श्रमिक आन्दोलन तथा सार्वजनिक विरोध प्रदर्शनमा यी नाराहरू सुनिन्छन् ।
लोकतन्त्र जिन्दावाद, गणतन्त्र जिन्दावाद, विद्यार्थी एकता जिन्दावादजस्ता नाराले कुनै व्यवस्था, अधिकार वा सामूहिक उद्देश्यप्रतिको समर्थन जनाउँछन्। त्यस्तै, भ्रष्टाचार मुर्दावाद, अन्याय मुर्दावाद, विभेद मुर्दावादजस्ता नाराले गलत प्रवृत्तिको विरोध गर्छन् । यस अर्थमा यी नारा नागरिकका असन्तुष्टि, अपेक्षा र राजनीतिक चेतना व्यक्त गर्ने माध्यम पनि हुन् । तर हाम्रो राजनीतिक अभ्यासमा एउटा रोचक विरोधाभास देखिन्छ । हामी कहिले व्यक्तिलाई विचारभन्दा माथि राख्छौँ । कहिले व्यक्तिको नाममा जिन्दावाद र मुर्दावादको आवाज उठाउँछौँ ।
कुनै नेता वा दलप्रति समर्थन जनाउँदा उसका राम्रा र नराम्रा दुवै पक्षमाथि प्रश्न गर्न बिर्सन्छौँ । त्यस्तै, कुनै व्यक्ति वा समूहप्रति असहमति राख्दा उसले प्रस्तुत गरेको प्रत्येक विचारलाई पनि अस्वीकार गर्ने प्रवृत्ति देखिन्छ । के कुनै व्यक्ति पूर्ण रूपमा सही वा पूर्ण रूपमा गलत हुन सक्छ ? के कुनै राजनीतिक दलले प्रस्तुत गरेका सबै विचार स्वीकार्य वा अस्वीकार्य हुन्छन ? लोकतान्त्रिक समाजमा यस्ता प्रश्नको उत्तर नाराले होइन, तर्क, तथ्य र विवेकले दिनुपर्छ ।
अर्कोतर्फ, मुर्दावाद शब्दको प्रयोगलाई पनि गम्भीरतापूर्वक बुझ्न आवश्यक छ । भ्रष्टाचार मुर्दावाद भन्नुको अर्थ भ्रष्टाचार गर्ने व्यक्तिको भौतिक मृत्युको कामना गर्नु होइन, भ्रष्टाचारको प्रवृत्ति र अभ्यासको अन्त्य खोज्नु हो। तानाशाही मुर्दावाद भन्नुको अर्थ निरंकुश शासन प्रणालीको अन्त्य हुनुपर्छ भन्ने हो । तर जब यही शब्द कुनै व्यक्तिलाई लक्षित गरेर प्रयोग गरिन्छ, त्यसले असहमतिको अभिव्यक्तिबाट व्यक्तिगत घृणा र शत्रुताको रूप लिन सक्छ । विरोध गर्नु नागरिकको अधिकार हो, तर विरोधको भाषा र उद्देश्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् । लोकतन्त्रले असहमतिको अधिकार दिन्छ, कसैप्रति हिंसा र घृणा फैलाउने छुट दिँदैन । नाराको अर्को महत्त्वपूर्ण पक्ष यसको मनोवैज्ञानिक प्रभाव हो ।
एउटा व्यक्तिले नारा लगाउँदा त्यो उसको व्यक्तिगत विचार हुन सक्छ, तर सयौँ वा हजारौँ मानिसले एउटै नारा लगाउँदा त्यसले सामूहिक पहिचान र एकताको भावना निर्माण गर्छ । यसले आन्दोलनलाई ऊर्जा दिन्छ र मानिसहरूलाई एउटै उद्देश्यमा जोड्न सक्छ । तर यही सामूहिक मनोविज्ञानले कहिलेकाहीँ व्यक्तिको स्वतन्त्र चिन्तनलाई कमजोर पनि बनाउन सक्छ। भीडसँगै नारा लगाउनु र त्यस नाराको अर्थ बुझेर समर्थन गर्नु फरक कुरा हुन् । हामीले कहिलेकाहीँ आफैँलाई प्रश्न गर्नुपर्छ, म किन यो नारा लगाइरहेको छु ? यसको उद्देश्य के हो ? यसले समाजलाई कस्तो दिशा दिन्छ ? वास्तवमा जिन्दावाद र मुर्दावादको प्रयोगभन्दा पनि त्यसको उद्देश्य महत्वपूर्ण हुन्छ । कुनै असल विचारलाई समर्थन गर्नु र गलत प्रवृत्तिको विरोध गर्नु सामाजिक परिवर्तनका आवश्यक पक्ष हुन् ।
तर व्यक्तिपूजा र अन्धविरोधले समाजलाई सही दिशामा लैजान सक्दैनन् । कुनै नेताको विचार सही छ भने त्यसलाई समर्थन गर्नुपर्छ, गलत छ भने आलोचना गर्न सक्नुपर्छ। त्यस्तै, कुनै विचार मन नपरेकै कारण त्यसको अध्ययन र विश्लेषण नगरी अस्वीकार गर्नु पनि बौद्धिक इमानदारी होइन। विचारसँग विचारले प्रतिस्पर्धा गर्नुपर्छ, तर्कसँग तर्कले उत्तर दिनुपर्छ । आज हामीले नाराको संख्या बढाइरहेका छौँ कि त्यसको अर्थ बुझिरहेका छौँ ? हामीले सडकमा उठाउने आवाज आफ्नो व्यवहारमा पनि उतारिरहेका छौँ ? भ्रष्टाचार मुर्दावाद भन्ने नागरिक आफैँ भ्रष्ट अभ्यासबाट टाढा छ कि छैन ? लोकतन्त्र जिन्दावाद भन्ने व्यक्ति अरूको विचार र असहमतिलाई सम्मान गर्न तयार छ कि छैन ? समानता जिन्दावाद भन्ने समाजले व्यवहारमा विभेद अन्त्य गर्न सकेको छ कि छैन ? यी प्रश्नको उत्तर खोज्नु आवश्यक छ ।
किनकि समाजको वास्तविक परिवर्तन नाराको आवाजमा होइन, त्यस अनुसार बदलिने सोच र व्यवहारमा देखिन्छ । अन्ततः जिन्दावाद र मुर्दावाद केवल दुई शब्द होइनन्, यी हाम्रो सामाजिक र राजनीतिक चेतनाका अभिव्यक्ति हुन् । जिन्दावादले हामीले केलाई जीवित राख्न चाहन्छौँ भन्ने देखाउँछ भने मुर्दावादले हामीले केको अन्त्य चाहन्छौँ भन्ने प्रकट गर्छ । त्यसैले हाम्रो जिन्दावाद न्याय, स्वतन्त्रता, समानता, मानवता र असल विचारका पक्षमा हुनुपर्छ । हाम्रो मुर्दावाद अन्याय, शोषण, भ्रष्टाचार, विभेद र गलत प्रवृत्तिका विरुद्ध हुनुपर्छ । हामीले व्यक्तिभन्दा विचारलाई, आवेगभन्दा विवेकलाई र नाराभन्दा व्यवहारलाई महत्व दिन सक्यौँ भने मात्र यी शब्दको वास्तविक अर्थ स्थापित हुनेछ । आखिर प्रश्न यति मात्र हो, हामी केलाई जिन्दावाद भनिरहेका छौँ र केलाई मुर्दावाद ?