Butwal Today

विद्यार्थी आन्दोलन सुषुप्त किन ?

२ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

इतिहासदेखि बर्तमानसम्म नेपालमा भएका ठूला राजनीतिक परिवर्तनहरूमा विद्यार्थीहरूको विशेष भूमिका रहेको कुरा कतैबाट छिपेको छैन । विद्यार्थीहरूले इतिहासका धेरै मोडहरूमा गरेको पटकपटकको आन्दोलन व्यवस्था परिवर्तनका लागि मात्रै होइन, शैक्षिक अधिकारका लागि पनि थियो । देशमा अव्यवस्था, कुशासन र बेथिती बढ्दै गर्दा विद्यार्थीहरू चुप लागेर बसेका थिएनन् ।

बरु आन्दोलनको संखघोष गरेर व्यवस्था परिवर्तनमा ठूलो भूमिका खेलेका थिए । मंगलवार अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाउँदै गर्दा विद्यार्थीहरूको योगदान कतै विर्सन सकिदैन । भन्ने गरिन्छ– विद्यार्थीहरू परिवर्तनका संवाहक हुन् । आजका विद्यार्थी भोलिको नयाँ नेपालका सम्बाहक हुन् । विगतमा विद्यार्थीहरूले गरेको असल कर्मले शिक्षा क्षेत्रमात्र होइन, समग्र व्यवस्था परिवर्तनमै महत्वपूर्ण योगदान पुगेको कुरा बिर्सन सकिदैन् । आजका विद्यार्थी नै भोली गएर देश निर्माणमा लाग्ने हुँदा विद्यार्थीलाई कलिलै उमेरदेखि असल अभ्यास, नैतिकवान र अनुशासित बनाउनु जरुरी छ ।

विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरू भएका छन् । विद्यार्थीहरूको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि मंगलबार विद्यार्थीहरूले अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाएका छन् ।

नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना गर्न होस् वा २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना गर्ने दौरानमै किन नहोस्, विद्यार्थीको भूमिका महत्वपूर्ण थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थीले खेलेको भूमिका कहिल्यै कम आँक्न सकिदैन् । २०४६ सालयताको २०६२÷०६३ को ऐतिहासिक आन्दोलन होस वा गणतन्त्र स्थापनाका लागि विद्यार्थीको योगदान नेपालको इतिहासमा सधै अंकित रहनेछ ।

तर, पछिल्लो केही बर्षयता भने विद्यार्थीहरू जुर्मुराउनै छोडेका छन् । विद्यार्थीहरूले बाल्ने जागरणको ज्योति बल्नै छाडेको छ । विगतमा विद्यार्थीहरूले गरेको आन्दोलन स्मरण गर्ने हो भने अहिले विद्यार्थीहरूको भूमिका निकै खुम्चिदै गएको देखिन्छ । यो चिन्ताको कुरा हो । विद्यार्थीहरू आफूहरूमाथि परेको समस्यामा पनि बोल्न सकिरहेका छैनन् । अहिले विद्यार्थीहरूमाथि शोषण भैरहेको छ । चाहे शुल्कका नाममा होस् चाहे त्यो सरकारी विद्यालय नै किन नहोस् वा नीजि विद्यालय तथा क्याम्पसहरूको कुरा नै किन नहोस् । विद्यार्थी संगठनहरूमाथि रास्वपा सरकारले बन्देज लगाउने कुरा उठाउँदापनि विद्यार्थीहरू चुप लाग्नु राम्रो होइन ।

अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाउँदै गर्दा इतिहासलाई कदापि विर्सन सकिदैन् । सन. १९३५ तिर नाजीहरूले चेक रिपब्लिकका विश्वविद्यालयहरूमा आक्रमण गरेका थिए । त्यहाँ उनीहरूले केही विद्यार्थीहरूको हत्या मात्र गरेनन्, विद्यार्थीहरूलाई नियन्त्रणमा लिएर कन्सन्ट्रेसन क्याम्पहरूमा पनि पठाएका थिए । त्यति बेला प्राग विश्वविद्यालयमा भएको नाजी आक्रमणमा नौ जना विद्यार्थीको हत्या भएको थियो ।

त्यति बेला हत्या गरिएका ९ विद्यार्थी र १२ सय विद्यार्थीको सम्झनामा यो दिवस मनाउन थालिएको इतिहासमा उल्लेख छ । त्यसपछिमात्रै विश्वमा विद्यार्थीहरूले आफूहरूमाथि परेको दमन र शोषणविरुद्ध आवाज उठाउन थालेका हुन् । नेपालमा पनि राणा शासन कालमा नेपालमा स्कुल खोल्न प्रतिवन्ध जस्तै गरिएको थियो । नेपाली विद्यार्थी भारतको बनारस गएर शिक्षा लिनुपर्ने अवस्था थियो । नेपालमा स्कुल खुलेपनि त्यहाँ अत्यन्त थोरैमात्र विद्यार्थीले पठनपाठनको अवसर पाउने गर्दथे । शिक्षा पाउने अधिकारबाट समेत बञ्चित गर्ने जुन काम भयो, त्यसका विरूद्ध भारतबाटै विद्यार्थीहरू एकजुट हुने अवस्था भयो ।

नेपालबाट पढ्न गएका विद्यार्थीहरूले बनारसमै नेपालको राणा शासनविरूद्ध आन्दोलनको उदघोष गरेका थिए । त्यसकारण विगतदेखि वर्तमानसम्म विद्यार्थीले गरेको आन्दोलनले देशमा परिवर्तनको अवस्था आएको छ । अव यो परिवर्तनलाई संस्थागत गर्न पनि विद्यार्थीको भूमिका महत्वपूर्ण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?