Butwal Today

ओझेलिएको दुना–टपरीको व्यावसायिक पुनरागमन

२ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

नवलपरासी ।
कुनै समय नेपाली समाजका भोजभतेर, पूजापाठ, धार्मिक अनुष्ठान र सामाजिक संस्कारमा अनिवार्यजस्तै मानिने दुना–टपरी पछिल्लो समय प्लास्टिक तथा कागजका सामग्रीको प्रयोग बढेसँगै ओझेलमा पर्दै गएका छन् । तर वातावरणमैत्री सामग्रीको प्रयोगप्रति चासो बढ्न थालेपछि परम्परागत सीपबाट उत्पादित दुना–टपरीलाई व्यावसायिक रूपमा पुनः स्थापित गर्ने प्रयास हुन थालेको छ ।

सरावल उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार मेला महोत्सव २०८३ मा राखिएको एउटा स्टलमा दुई महिला आफ्नै समूहले उत्पादन गरेका दुना–टपरी बिक्री तथा प्रदर्शनीका लागि राखेर बसेका छन् । उनीहरूको उद्देश्य परम्परागत सीपको संरक्षणसँगै प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउने सन्देश दिनु र महिलालाई आम्दानीको अवसर सिर्जना गर्नु हो ।

नवलपरासीको सरावल गाउँपालिका–१ भगडामा रहेको हंसनी भगवानी महिला लघु उद्यमी समूहले विगत आठ वर्षदेखि दुना–टपरी उत्पादन गर्दै आएको छ । समूहमा आबद्ध महिलाहरूले सालका पातबाट विभिन्न आकारका दुना, टपरी तथा अन्य सामग्री उत्पादन गरी प्याकिङसहित बिक्री गर्दै आएका छन् ।

समूहकी सदस्य हेमा चौधरीका अनुसार परम्परागत सीपलाई व्यावसायिक रूप दिने र महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यले समूहले उत्पादनलाई निरन्तरता दिँदै आएको हो । कुनै समय गाउँघरमा हुने विवाह, व्रतबन्ध, पूजापाठ, धार्मिक मेला तथा सामाजिक भोजमा सालका पातबाट बनेका दुना–टपरीको प्रयोग व्यापक थियो । प्राकृतिक सामग्रीबाट बनाइने भएकाले यसको प्रयोग नेपाली मौलिक संस्कृति र जीवनशैलीसँग पनि जोडिएको थियो । तर बजारमा प्लास्टिक र कागजका प्लेट तथा भाँडा सहज रूपमा उपलब्ध हुन थालेपछि यसको प्रयोग घट्दै गएको थियो ।

पछिल्लो समय प्लास्टिकजन्य फोहोरले वातावरणमा पारिरहेको असरबारे जनचेतना बढ्दै गएको छ । नदी, नाला, खेतबारी तथा सार्वजनिक स्थानमा जथाभावी फालिने प्लास्टिक लामो समयसम्म नष्ट नहुने भएकाले वातावरण प्रदूषणको चुनौती बढिरहेको छ । यस्तो अवस्थामा प्राकृतिक पातबाट निर्माण गरिने दुना–टपरीलाई प्लास्टिकका प्लेट र भाँडाको विकल्पका रूपमा प्रवद्र्धन गर्न सकिने सम्भावना देखिएको छ ।

दुना–टपरी उत्पादनले वातावरण संरक्षणमा योगदान पु¥याउनुका साथै ग्रामीण महिलाका लागि स्वरोजगारको अवसरसमेत सिर्जना गर्न सक्छ । घरायसी कामसँगै समूहमा आबद्ध भएर उत्पादनमूलक गतिविधिमा संलग्न हुँदा महिलाको आर्थिक सहभागिता र आत्मनिर्भरता बढाउन सहयोग पुग्छ । स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ र परम्परागत सीपको उपयोगबाट सानो लगानीमा उद्यम सञ्चालन गर्न सकिने भएकाले यसलाई ग्रामीण अर्थतन्त्रसँग जोड्न सकिने सम्भावना पनि छ ।

तर यस्तो उद्यमलाई दीर्घकालीन व्यवसायका रूपमा स्थापित गर्न उत्पादन मात्र पर्याप्त हुँदैन । नियमित कच्चा पदार्थको उपलब्धता, आधुनिक उपकरण, उत्पादनको गुणस्तर, आकर्षक प्याकेजिङ र बजार व्यवस्थापनमा ध्यान दिन आवश्यक छ । होटल, रेस्टुरेन्ट, धार्मिक स्थल, स्थानीय बजार तथा भोजभतेर आयोजकसँग समन्वय गर्न सके दुना–टपरीको बजार विस्तार गर्न सकिने समूहका महिलाहरूको अपेक्षा छ । परम्परागत सीपलाई व्यावसायिकतासँग जोड्ने यस्ता प्रयासलाई स्थानीय सरकारले पनि प्रोत्साहन गर्नुपर्ने आवश्यकता देखिन्छ । सीप विकास तालिम, उत्पादन उपकरण, सहुलियतपूर्ण ऋण तथा बजारीकरणमा सहयोग उपलब्ध गराउन सके महिला समूहबाट सञ्चालित घरेलु उद्यमलाई थप व्यवस्थित बनाउन सकिन्छ ।

सरावल उद्योग वाणिज्य संघले ग्रामीण क्षेत्रमा लुकेर रहेका उद्यमशीलता र सम्भावनाको पहिचान गरी स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने उद्देश्यले मेला आयोजना गरेको संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक वीरेन्द्र यादवले बताए । स्थानीय स्तरमा उत्पादन भएका वस्तुको प्रदर्शनी र बिक्रीले साना उद्यमीलाई प्रोत्साहन मिल्ने उनको भनाइ छ ।

गाउँपालिका स्तरमा उद्योग वाणिज्य संघ गठन भएर औद्योगिक व्यापार मेला आयोजना गर्नु सराहनीय काम भएको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरीले बताए ।

यस्ता कार्यक्रमले स्थानीय उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै गाउँपालिकाभित्र आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ । प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगका बीच दुना–टपरी उत्पादनलाई पुनः व्यावसायिक बनाउने प्रयासले संस्कृति संरक्षण, वातावरणमैत्री उत्पादन र महिला स्वरोजगारलाई एकसाथ जोडेको छ । सरावलका महिलाहरूको यो प्रयासले परम्परागत सीपलाई आधुनिक बजारको मागअनुसार विकास गर्न सके ग्रामीण क्षेत्रमा रोजगारी र आत्मनिर्भरताको नयाँ आधार बन्न सक्ने सम्भावना देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?