Butwal Today

पासोमा पारिँदै प्रेमको प्रतिक मलेवा पक्षी

३० कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

पाल्पा ।

मलेवा प्रेमको प्रतिकको रुपमा चिनिन्छ । तर, यही पक्षीको शिकार गर्ने क्रम बढेको छ । गतवर्ष खेतमा चरेको मलेवालाई पासोमा पारेर माथागढीको कसेनीका दानबहादुर कुमालले राम्रै रकम हात पारेको बताउँछन् । यसपटक पनि पासोको तयारीमा रहेका छन् उनी । कसेनीकै दानबहादुर कुमालले जस्तै धान काटेको खेतमा आहाराको खोजीमा आएको पंक्षी मलेवालाई जालमा फसाएर धेरैले आम्दानीको बाटो बनाए । बिहानको घामको उज्यालो नै छेक्नेगरी माडीफाँटमा चरनको लागि कार्तिकदेखि माघसम्म मलेवा आउने गर्दछन् । ठूलो समूह तथा बथानमा आउने यो पक्षी परेवा प्रजातीको हो । पहिले पहिले यो भन्दा ठूलो सख्यामा आउँथे । त्यो बेलामा जाल तथा पासो थाप्ने प्रचलन थिएन । बन्दुक भएकाहरुले बन्दुक हान्ने गर्दथे ।

पुराना पुस्ताका ज्ञानबहादुर चिदी भन्छन– केही बर्ष मलेवा हरायो । गत वर्षबाट फेरी आउन लाग्यो । खाली खेतमा झरेको धान र खेतमा छरेको तोरी सहित किरालाई आफ्नो मुख्य आहारा बनाउने यो प्रजातीलाई धेरै ठाउँमा किसानले आफ्ना साथीका रुपमा लिने भएकाले यसको सिकार गर्दैन थिए । किरालाई नै विषेशगरी आहारा बनाउने मायालु पक्षी हो मलेवा । यसलाई प्रेमको प्रतिक ठान्ने भएकाले पनि यसको सिकार गर्दैनन् । कुनै कारणबाट यो जोडीको विछोड भए पुनः बाँकी समयका लागि जोडी नखोज्ने र शोकमै बस्ने स्वभावको पंक्षी भएकाले यसको सिकार नगरिएको हुमिनको फेदीका पुराना पुस्ताका बिमल दर्लामी बताउँछन् ।


कार्तिकदेखि तराईका फाँटबाट पाचहजार तिनसय मिटरसम्मका उचाइका फाँटमा आहाराका लागि उच्च पहाडी क्षेत्रबाट जाडो छल्नका लागि तल झर्ने यो प्रजातीका विषयमा गहिरोसंग अध्ययन नभएको पक्षी संरक्षण संघले जनाएको छ । मलेवा तराईका धान खेत खाली हुनासाथ बिहान सूर्यको किरणै छेक्ने गरी हजारौंको सख्यामा आउने गर्दछन् । जब यो जमिनमा आहाराको खोजीमा झर्दछ, स्थानियले जाल थापेर राख्छन् । जालमा किरा राखिदिने गर्दछन् । आहाराको प्रलोभनका कारण मलेवा जालमा फस्दछ । विषेशगरी मलेवाबाट थारु समुदायले विभिन्न स्वादका परिकार बनाउने गर्दछन् । अहिले पनि अन्य समुदायले भन्दा थारु समुदायले जाल विछ्याउने गरेको सुनवल नगरपालिकाको वडेराका श्यामप्रसाद न्यौपाने बताउँछन् ।

रामग्राम नगरपालिका कसियाकी पार्वती चौधरीका अनुसार यसको मासु प्रयोग गर्नाले शरीरमा लागेको रोगव्याध निर्मुल हुन्छ भन्ने जनविश्वासका कारणका खोजी खोजी सिकार गर्ने प्रचलन रहेको छ । यो उडेर टाढा टाढा सम्म पुग्ने, विशेषगरी उच्च पहाडी क्षेत्रमा बस्ने भएका कारण यहाँ पालिएका कुखुरा, हाँस र परेवाका तुलनामा स्वादिलो हुने भएकाले अन्य समुदायले पनि जोडीको १५ सयमा किनेर भएपनि लैजाने गरेको उनी बताउँछिन् ।

वर्षमा एकपटक एक जोडी मात्र फूल पार्ने यो प्रजातीको विशेषता भनेको समूह हो । यो समूहमा मात्रै उड्ने गर्दछन् । कार्तिकदेखि माघसम्म जाडो छल्न तल झरेका मलेवा माघको मध्यदेखि नै पुनः उच्च पहाडी क्षेत्रमा फर्कने गर्दछन् । ठूला ठूला रुखका प्वाल, भग्नावेशष भएका ठूला घर, पहरामा बासस्थान बनाउने यो पंक्षीले बैशाखबाट फूल पार्न सुरु गर्ने, तिन देखि साढे तिन महिनामा बच्चा हुर्कने, वयस्क भएपछि बच्चाले परिवारको साथ छाड्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?