© 2026
पाल्पा ।
सिमेन्ट उद्योगको लागि आवश्यक प्रमुख कच्चा पदार्थ चुन ढुंगा निकासीलाई पारदर्शी बनाउन र राजस्व चुहावट रोक्न खानीस्थलमा धर्मकाटा राख्न दिएको निर्देशन कार्यान्वयनमा आउन नसक्दा राजस्व बढ्दै गएको छ ।
खानी तथा भुगर्भ विभागले खानीस्थलमा २०७९ सालको पुस १ गतेदेखि अनिवार्य रुपमा तौल गर्ने मेसिन राख्न खानी संचालकहरुलाई निर्देशन दिएको थियो । यता पाल्पाका खानी संचालकहरुले पटक पटक अनुमति भन्दा बढि उत्खनन् गरी ढुवानी गर्दा पनि धर्मकाटा राख्न दिएको निर्देशनको पालना गरेका छैनन् । पाल्पाको निस्दी गाउँपालिका ज्यामिरे, माथागढीको रहवास, बहादुरपुर, तिनाउको कचल, दोभान, कोलडाँडा र रैनादेवीको सिद्देश्वरको गाउँबाट चुन ढुंगा उत्खनन् हुदै आएको छ ।
खानीबाट उत्खनन गरी ढुवानी गर्दा वार्षिक रुपमा कति परिमाणमा चुन ढुंगा निकासी भयो भन्ने अभिलेख पारदर्शी नभएका कारण खानी विभागले तौल मेसिन राख्न अनिवार्य निर्देशन दिएको हो ।
दक्षिण एसियाकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगको खानी यस क्षेत्रमा भएपनि नियम वनाउने निकायकै बेवास्ताका कारण निर्देशन कार्यान्वयनमा आउन नसकेको हो । सबैभन्दा ठूलो सिमेन्ट उद्योगले वार्षिक रुपमा कति मात्रामा चुन ढुंगा उत्खनन् गरी ढुवानी गरेको छ भन्ने अभिलेख नहुँदा त्यसको असर राजस्वमा परेको छ । खानी संचालकले आफु खुसी राजस्व बुझाउँदै आएका छन् ।

निस्दी गाउँपालिकाका एक जनप्रतिनिधि भन्छन–निर्देशन कार्यान्वयन नहुँदा राजस्वमा असर त प¥यो नै, वातावरणीय पक्षपनि ध्वस्त भयो । चीन सरकारको लगानीमा नवलपुरको सर्दीमा संचालित होङसी सिमेन्ट उद्योग दक्षिण एसिया कै सबैभन्दा ठूलो उद्योग हो । यसको खानी पाल्पा निस्दीको ज्यामिरेमा पर्दछ । सबैभन्दा बढि अटेरी यही सिमेन्ट उद्योगले गरेको छ । अनुगमन गर्ने निकाय भनेको खानी विभाग हो । खानी विभागले कर्मचारीले भने बुटवल र भैरहवाका होटलबाटै ज्यामिरेको अनुगमन गर्ने गर्दछन् ।
खानी क्षेत्रमा कार्यरत एक कर्मचारीका अनुसार खानी सञ्चालकले आवतजावत हवाइभाडा, होटल खर्च सहित खाममा नजराना चढाउने गर्दछन् । त्यसैले कर्मचारी खानी क्षेत्रमा कमै मात्रामा पुग्ने गर्छन ।
यो सिमेन्ट खानीका कारण निस्दीमा पानीका श्रोत सुक्दा खानेपानी सहित सिचाईको समेत समस्या देखिएको छ । यस विषयमा स्थानिय सरकार र राजनैतिक दलका जनप्रतिनीधि सबै निकाय मौन रहँदा स्थानीयलाई समस्या परेको स्थानिय मनकला सोती बताउँछिन् ।
उनी भन्छिन– वर्षौ भयो उत्खनन् भैरहेको तर अहिलेसम्म कही कतैबाट अनुगमन नहुँदा होङसी सिमेन्ट कम्पनीको मनपरीले आजित भैयो । अनुगमनका लागि जिल्ला समन्वय समितिलाई कानुनी अधिकार नदिएका कारण खानी संचालकको मात्र नभई खानी विभागले समेत ठूलो कमजोरी गरेको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल भन्छन– कहिलेकाहीँ विभागबाट अनुगमन भएको सुन्ने मात्रै हो । कहिल्यै समन्वय भएन ।
हालसम्म १० वटा खानी उद्योग संचालनमा आएका छन् । विभागले तौल मेसिन राख्नका लागि निर्देशन दिएको यतिका समयमा वि.एस सिमेन्टले तौल मेसिन राखे पनि केही समयदेखि खानी बन्द भएको छ ।
उता रहवासको पाल्पा सिमेन्टको तौल मेसिन भने संचालनमा आएको जनसम्पर्क प्रमुख जिवन निरौला बताउँछन् । तौल मेसिन नभएका कारण राजस्व र वातावरणीय क्षेत्रमा मात्र समस्या भएको छैन, सडकको क्षमता भन्दा बढि भारवहन भएका कारण सिद्धार्थ राजमार्ग ध्वस्त भएको छ ।
पूर्व सांसद विनोद चौधरीको स्वामित्वमा रहेको रिब्दीकोटको सर्देवामा संचालित उद्योगका लागि कोइला र उद्योगबाट क्लिङकर ढुवानी हुदै गर्दा स्थानियले सडकमा यातना नै खेप्नु परेको स्थानिय राजेन्द्र ढकाल बताउँछन् ।
रहबासका स्थानिय नारायण श्रेष्ठ तौल मेसिन राख्ने विषयमा स्थानिय तहबाटै दवाव सिर्जना हुन नसक्दा खानी संचालकहरुको मनपरीले उद्योग नजिकका बस्ती अन्यत्र सर्नुपर्ने अवस्था आएको गुनासो गर्छन ।
खानी संचालकहरुले प्रति टन ६० रुपैयाँ आफू खुसी राजस्व बुझाउदै आएका छन् भने त्यो पनि किस्ताबन्दीमा तिर्छन । खानी विभागले अदालतमा मुद्दा खेपेको संचालकलाई क्षेत्र विस्तारका लागि अनुमति दिएको रहस्य समेत खुलेको छ ।