© 2026
बुटवल ।
तिलोत्तमामा आयोजना हुने पाँचौँ समपूर्ण नकआउट फुटबल प्रतियोगिता २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर ८ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही, नवलपरासी र स्याङ्जाका १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
लुम्बिनी एग्रो प्रोडक्ट्स एण्ड रिसर्च सेन्टर प्रालिको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको खेलमैदान मर्मत, टोली दर्ता तथा अन्य व्यवस्थापकीय तयारी पूरा भएको आयोजक समपूर्ण युवा क्लबले जनाएको छ । क्लबले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।
क्लबका अध्यक्ष अविर पुन पाइजाले प्रतियोगिताको विजेताले तीन लाख पाँच हजार ५०५ रुपैयाँ र उपविजेताले एक लाख ६० हजार ६६० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जानकारी दिए । स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलमैदान संरक्षण र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
उनका अनुसार वि।सं। २०७६ मा दर्ता भएको क्लबले स्थापनाकालदेखि नै खेलकुद तथा सामाजिक गतिविधिलाई प्राथमिकता दिँदै आएको छ । प्रतियोगितालाई नियमित आयोजना गर्दै स्थानीय खेलाडीलाई अवसर प्रदान गर्नुका साथै खेलकुदको वातावरण निर्माणमा क्लब सक्रिय रहेको उनको भनाइ छ ।
प्रतियोगितामा तीन जिल्लाका १२ टोली सहभागी हुने क्लबका सहसचिव रवि अर्यालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल आयोजक सम्पूर्ण युवा क्लब र फर्साटिकर युवा क्लबबिच हुनेछ । गत वर्षको प्रतियोगिताको उपाधि झरना स्पोर्टिङ क्लबले जितेको थियो ।
पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिका–१४ का वडा सदस्य सन्तवीर चौधरी, नगर कार्यपालिका सदस्य रवि सेन्चुरी, सुपौली टोल विकास संस्थाका चक्रबहादुर क्षेत्री र समाजसेवी यमबहादुर थापाले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए । उनीहरूले प्रतियोगिता सञ्चालन गर्दा स्थानीय खेलाडीलाई प्राथमिकता र अवसर दिनुपर्ने सुझाव दिएका थिए ।
आयोजकले प्रतियोगितामार्फत स्थानीय खेल प्रतिभाको पहिचान र विकाससँगै खेलकुदप्रति युवाको आकर्षण बढ्ने अपेक्षा गरेको छ ।