© 2026
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एउटा खेल हुँदैछ । आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुनेछ ।
लुम्बिनी यसअघि नै प्ले अफमा पुगिसकेको टोली हो । त्यस्तै विराटनगरका लागि प्ले अफमा पुग्ने सम्भावना बलियो बनाउन आजको खेलमा जीत महत्वपूर्ण छ । लुम्बिनी ६ खेलमा ९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । विराटनगर समान ६ खेलमा ६ अंकसहित पाँचौ स्थानमा छ ।
हिजो भएका खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराउँदै प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । अब प्ले अफमा पुग्न चितवनले अर्को खेलमा कर्णाली याक्सलाई हराउनुपर्नेछ । पहिलो संस्करणको च्याम्पियन जनकपुरसँगै कर्णाली र पोखरा एभेन्जर्स प्ले अफ होडबाट बाहिरिएका छन् ।
सुदूरपश्चिमले हिजो भएको खेलमा काठमाण्डौ गोर्खाजलाई ७ रनले पराजित गरी लगातार तेस्रोपटक प्ले अफमा पुगेको छ । सुदूरपश्चिम ७ खेलमा १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । एनपीएल तेस्रो संस्करणमा भैरहेका पछिल्ला खेलमा रन बनाउन भने मुश्किल भइरहेको देखिन्छ ।
ब्याटरका लागि पिच चुनौतीपूर्ण देखिँदा बलरले भने त्यसको फाइदा उठाइरहेका छन् । हिजो भएका दुवै खेलमा बनेका कम योगफल र त्यसलाई पछ्याउने क्रममा देखिएको संघर्षले पिचबारे प्रश्न उठाएको छ ।