Butwal Today

पुलमा रेलिङ नहुँदा दुर्घटनाको जोखिम

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

नवलपरासी । जिल्ला सदरमुकाम परासीदेखि ऐतिहासिक तथा पर्यटकीय महत्त्वको नन्दनताल जाने सडकअन्तर्गत रावनखण्डा खोलामा रहेको पुलमा रेलिङ नहुँदा दुर्घटनाको जोखिम बढेको छ । रामग्राम नगरपालिका–१५ जमुनिया र पाल्हीनन्दन गाउँपालिका–६ सनइको सिमानामा रहेको उक्त पुल साँघुरो हुनुका साथै दुवैतर्फ सुरक्षाका लागि रेलिङसमेत नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

पुलको दुवैतर्फ रेलिङ नहुँदा विशेषगरी रातिको समयमा आवतजावत गर्ने यात्रुलाई समस्या हुने गरेको स्थानीयले बताएका छन् । साँघुरो पुलमा दुईवटा सवारीसाधन एकैपटक ओहोरदोहोर गर्नसमेत कठिन हुने भएकाले सामान्य असावधानीले पनि ठूलो दुर्घटना निम्तिन सक्ने उनीहरूको चिन्ता छ ।

स्थानीय ओमपथ चौधरीका अनुसार पुलबाट चिप्लिएर खोलामा खस्ने घटना पटकपटक भएका छन् । उनका अनुसार हालसम्म दर्जनौँ व्यक्ति पुलबाट खसेर दुर्घटनामा परेका छन् ।

“पुलको दुवैतर्फ रेलिङ छैन । यहाँबाट खसेर मानिस घाइते हुने अवस्था छ। काम गर्ने र काम गराउने सबै मेसिन हुन् कि मानिस हुन् ? यति सामान्य कुरा पनि बुझ्दैनन्?” उनले आक्रोश व्यक्त गर्दै भने ।

स्थानीयले सडक तथा पूर्वाधार निर्माणका नाममा लाखौँ र करोडौँ रूपैयाँ खर्च हुने गरे पनि सर्वसाधारणको सुरक्षासँग जोडिएको सामान्य संरचना निर्माणमा समेत बेवास्ता गरिएको गुनासो गरेका छन् । उनीहरूका अनुसार पुलमा रेलिङ निर्माण गर्न ठूलो बजेट आवश्यक नपर्ने भए पनि सम्बन्धित निकायले यसलाई प्राथमिकतामा राखेका छैनन् ।

“करोडौँ र लाखौँ रूपैयाँका सडक बनाउँदा १० देखि १६ हजार रूपैयाँ खर्च हुने रेलिङको बजेट किन समावेश गरिँदैन? विकास भनेको यस्तै हो ?” स्थानीयले प्रश्न गरेका छन् । सडक तथा पुल निर्माण गर्दा प्राविधिक मापदण्ड पूरा गर्नुका साथै सर्वसाधारणको सुरक्षा र सम्भावित दुर्घटनाको जोखिमलाई समेत ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

उक्त सडक जनप्रतिनिधिहरूको समेत नियमित आवतजावत हुने मार्ग हो । तर पुलको जोखिमपूर्ण अवस्थाबारे सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको आरोप छ । जनप्रतिनिधिहरू दैनिक यही बाटो भएर ओहोरदोहोर गरे पनि समस्या समाधानका लागि पहल नगर्नु दुःखद भएको उनीहरूले बताएका छन् ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको नन्दनताल पर्यटकीय सम्भावना भएको स्थलसमेत हो । त्यहाँ पुग्ने सडकको पुल नै असुरक्षित हुँदा स्थानीय बासिन्दासँगै बाहिरबाट आउने पर्यटक तथा आगन्तुकसमेत जोखिममा पर्ने अवस्था छ ।

स्थानीयले सम्बन्धित वडा कार्यालय, रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका तथा सडक निर्माणसँग सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पुलमा तत्काल रेलिङ निर्माण गर्न माग गरेका छन् । साथै पुलको साँघुरोपन र अन्य प्राविधिक अवस्थाको निरीक्षण गरी आवश्यक सुधार गर्नुपर्ने उनीहरूको माग छ ।

सम्भावित दुर्घटनापछि मात्रै सुधारका काम अघि बढाउने प्रवृत्तिको अन्त्य गर्दै समयमै सुरक्षात्मक संरचना निर्माण गर्नुपर्ने स्थानीयको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?