Butwal Today

एनपिएलः पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

२६ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-
काठमाडौँ ।
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको जित निकालेको छ । आज सम्पन्न खेलमा पोखराले दिएको १३३ रनको सामान्य लक्ष्य विराटनगरले १९ दशमलव दुई ओभरमा छ विकेटको क्षतिमा भेट्टायो ।
खेलमा बसिर अहमदले ३७, लोकेश बमले ३३ र इमरान शेखले १० रनको योगदान दिए । अविजित रहेका इसुरु उडानाले २५ र शेहान जयसूर्याले १७ रन बनाए ।
पोखराका लागि बलिङतर्फ कुशल भुर्तेल र रमेश मेन्डिसले दुई–दुई तथा विपिन खत्री र धनन्जय लक्षणले एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७ दशमलव पाँच  ओभरमा १३२ रनमा अलआउट भयो ।
ओपनिङ ब्याटर युवराज सम्राले उत्कृष्ट पारी खेले । उनले ४७ बलमा सात चौका र पाँच छक्कासहित ८४ रनको पारी खेलेका हुन् ।
यस्तै, धनन्जय लक्षणले २२ र सनि बिकेले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । विराटनगर किङ्सका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे ।
उनले चार ओभरमा २७ रन दिएर सर्वाधिक छ विकेट लिए । त्यसमा सन्दीपको ह्याट्रिक समावेश छ । यस्तै, एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिए ।
यो जितपछि विराटनगरको प्लेअफ सम्भावना जीवितै रहेको छ । उसले छ खेल खेल्दा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ ।
आजको हारपछि पोखरा प्लेअफ दौडबाट बाहिरिएको छ । उसले छ खेलमध्ये पाँचमा पराजय र एक खेलमा मात्र जित निकालेको छ ।
आजै हुने अर्को खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुने तालिका छ । खेल साँझ ५ः०० बजेदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?